अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा नेपालका २ चित्रकार उत्कृष्ट

काठमाडौं । अन्तर्राष्ट्रियस्तरका चित्रकारबीचको अनलाइन प्रतिस्पर्धामा नेपालका २ जना चित्रकार उत्कृष्टको सूचिमा परेका छन् ।

अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनमा भएको ‘इन्टरनेसनल वाटरकलर अनलाइन कन्टेस्ट’ मा २२ देशका ४ सय चित्रकार सहभागी भएका थिए । प्रतिस्पर्धामा ‘टप थ्री’ को सूचिमा नेपालबाट चितवनका डि बराल, संखुवासभाका डिवि राई र मंगोलियाका मुख्खु गुगु परेका छन् । बरालको पोखराको रमणिय दृश्य चित्र, राइको काठमाडौंको असनको दृश्य चित्र, मुख्खुको बाज र मानिसको मुहार चित्र उत्कृष्टमा परेका हुन् । बराल र राई २० वर्ष यता चित्रकलामा सक्रिय रहँदै आएका छन् । अन्तर्राष्ट्रियस्तरका कार्यशाला, प्रर्दशनीमा सहभागी बन्दै आएका दुबै चित्रकार मुहार र दृश्य चित्रमा पोख्त मानिन्छन् । पर्यटन प्रर्वद्धन, कला संस्कृति जगेर्नाका कार्यशालामा चित्रकार बराल देशव्यापी अभियानमा समेत छन् । डि बरालको सौराहामा ‘क्रियटिभ आर्ट ग्यालरी’ सञ्चालनमा छ । डिवि राई राजधानीबाटै कला क्षेत्रमा लागिपरेका छन् ।

सो प्रतिस्पर्धामा नेपालका तर्फबाट ६० जना चित्रकार सहभागि थिए । २ महिना पहिले चित्रकारले हातले कोरेका चित्र अनलाइन मार्फत आयोजकलाई बुझाएका थिए । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङले ‘टप थ्री’ चित्रकारलाई काठमाडौंमा मंसीर १७ गते देखि सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिबलमा पुरस्कृत गरिने जानकारी दिए । उनका अनुसार ५० देशका चित्रकार सहभागि हुने फेष्टिबल एक हप्ता चल्ने छ । सो फेष्टिबल काठमाडौं र लुम्बिनीमा हुनेछ । फेष्टिबलमा करिव ४ सय बढी चित्र प्रर्दशनीमा राखिने छन् । वाटरकलर सोसाइटीका शाखा ८३ बढी देशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?