संविधान कार्यान्वयन गराउन सदनमा संविधानका काका मामाको खोजी

काठमाडौं । प्रतिनिधिसभाको सांसदहरूले  संविधानका बाबु आमा काका मामालाई संविधानको कार्यान्वयन गराउन माग गरेका छन् ।

संविधानको तीन तहको चुनाव भएर संविधान कार्यान्वयन भयो भन्ने राजनीतिक दल र तिनका नेताहरू समक्ष ती सांसदहरूले चुनौती दिएर संविधानको भाग ३३ संक्रमणकालीन व्यवस्था अन्तर्गतको धारा २९५ पढन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सूर्य छाप लिएर चुनाव लडेका ह्दयेदश त्रिपाठीले सभामुख समक्ष यस्तो आग्रह गरेका छन् । उनले  संविधानको किताब पल्टाउँदै धारा २९५को उपधारा ३ पढेर यस्तो आग्रह गरे ।

संविधानको भाग ३३ को धारा २९५को उपदफामा २मा यस्तो उल्लेख छ “धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ । त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम गर्नु पर्नेछ ।” 

सांसद त्रिपाठीले भने “ यो प्रावधान अनुसार आयोग बन्यो पनि र स्थानीय तह तोक्यो पनि । तर आयोगले विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानको निर्धारण भएन । यो धाराको कार्यान्वयन नभइ संविधान कार्यान्व्यन भएको मानिन्छ ?”

संसदमा कोही संविधानका काका मामा जो सुकै भए यसबारे जानकारी गराउनु होला भन्दै त्रिपठीले सभामुख मार्फत यस्तो आग्रह गरेका हुन् ।

यसैगरी सांसद त्रिपाठीले उल्लेख गरेको धारा ५६ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत व्यवस्था गरिएको छ । त्यसको उपधारा ४ मा भनिएको छ –स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् । गाउँपालिका र नगरपालिकामा रहने वडाको संख्या संघीय कानून बमोजिम हुनेछ ।”

त्यसैगरी उपधारा ५ मा भनिएको छ – संघीय कानून बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ ।”

त्रिपाठीका अनुसार संविधान कार्यान्वयन गराउन र यसलाई ठीक ढंगले सञ्चालन गराउन अझ धेरै ठाउँमा संशोधनको आवश्यकता रहेको छ । हतार हतारमा संविधान निर्माण गरी यस्ता बाधा र अवरोधको निकास नखोजी संविधानको कार्यान्वयनमा जटिलता थपिएको उनको बुझाइ छ ।

संविधान संशोधनका विषयहरूलाई केलाएर त्यसको उचित उपचार खोजी देशलाई अगाडि बढाउनु राजनीतिक दल र तिनका नेताहरूको कार्यभार भएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?