ओलीको टिप्पणी : ‘सर्वोच्चबाट गठबन्धनरुपी बाच्छा जन्मियो’

लोकपथ
156
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताए । उनले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताए । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडिरहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । लोकतन्त्रको पक्षमा होइन । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ । एउटा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेर नभएको अधिकार अदालतले दुनियाँमा कहीँ सरकार बनाउने र परिवर्तन गर्ने गर्दैन । एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, ५ वटा बाच्छा पायो । जुन गठबन्धन भनिन्छ नि ।’

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएको बताए । उनले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताए । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताउनु भयो । उहाँले अहिले भइरहेका जालझेललाई आगामी निर्वाचनबाट ध्वस्त बनाइने पनि दाबी गरे ।

अध्यक्ष ओलीले भने, ‘राजनीतिक शक्तिहरु दुई धारमा बाँडिएका छन् । एउटा लोकतन्त्रको पक्षमा अर्को जालझेल षड्यन्त्र, मुद्दा मामिला त्यसको पक्षमा । जाली फटाहा राजनीति एउटा, जनाधार पार्टी अर्को । राष्ट्र निर्माणको राजनीति एउटा, बिगार्ने राजनीति अर्को । देशको अर्थतन्त्र कस्तो हुँदैछ ? ध्वस्त हुँदैछ, देशको अर्थतन्त्र । हामीले दृढतापूर्वक देशको राजनीति बिग्रिन नदिन, कति बलिदान दिने, कति रगत बगाउने ? अब बलिदान दिने होइन, हामी बलिदान नदिकनका संघर्ष र निर्वाचनका माध्यमबाट नै अघि बढ्नुपर्छ । हामी सडकमा गइरहन आवश्यक छैन । हामी निर्वाचनबाट नै तह लगाउन सक्छौँ । गलत कुरा जनतालाई बताउने षड्यन्त्र भइरहेका छन् । तिनलाई चिर्ने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गरे । उनले सरकार ढालेँ भन्नेहरु अहिले अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताए । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?