नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट गाउँपालिका प्रमुखमा यी पाँच आकांक्षी

काठमाडौंसँग सीमाना जोडिएको जिल्ला नुवाकोट सधैँ राजनीतिक रूपमा चर्चामा रहने गर्छ ।

नेपाली कांग्रेसको केन्द्रीय तहमा नुवाकोटका नेताहरु रहेका कारण पनि नुवाकोट राजनीतिक चर्चामा रहने गरेको छ । अझ निर्वाचनको बेला कसले हार्‍यो र कसले जित्यो भन्ने कुरामा सबैको ध्यान नुवाकोटले खिचेको हुन्छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नुवाकोटमा सरगर्मी बढ्न थालेको छ । १० गाउँपालिका र २ नगरपालिका रहेको नुवाकोटमा आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले चुनावी तयारीलाई तीव्र बनाएका छन् ।

सो क्रममा हाल सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसबाट आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीहरूको नाम बाहिर आउन थालेको छ । यसअघि धेरै स्थानीय तहमा पराजय बेहोरेको कांग्रेसले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने दबाब रहेको छ ।

यसैक्रममा पूर्वअर्थमन्त्री समेत रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पञ्चकन्या गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि कांग्रेसबाट गाउँपालिका प्रमुखका आकांक्षीहरू देखिन थालेका छन् ।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा पञ्चकन्याबाट वैकुण्ठ मिश्र, रामेश्वर थापा, माधव खनाल, यम बहादुर थापा, उपेन्द्र कुइँकेललगायतको नाम मेयरको आकांक्षीको रूपमा अगाडि आएकाे छ ।

यस्तो छ मेयरको आकांक्षीहरूको इतिहास

रामेश्वर थापा

पञ्चकन्या गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको नाम हो, रामेश्वर थापा । थापा यसअघिको निर्वाचनमा समेत गाउँपालिका प्रमुखको प्रत्यासी रहेका कारण आगामी निर्वाचनका लागि स्वाभाविक उम्मेदवार मानिन्छन् ।

काठमाडौं महानगरपालिकाको पूर्वकर्मचारी समेत रहेका नेता थापा पूर्वअर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिन्छन् ।

त्यसो त लामो समय थापा डा. महतको स्वकीय सचिवको रूपमा काम गरेका छन् । उनी पार्टीको १३औँ महाधिवेशनबाट साबिक क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति सदस्य बनेका थिए । काठमाडौं महानगरमा कार्यरत रहँदा कर्मचारी युनियनमा रहेर समेत काम गरेका थापा आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आउने चर्चा बढेको छ ।

वैकुण्ठ मिश्र

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव हुन्, वैकुण्ठ मिश्र । पञ्चकन्यामा स्थानीय तहको निर्वाचनको माहोल तात्न थालेपछि गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा मिश्रको नाम अगाडि आएको छ ।

कांग्रेसको भातृ संगठन नेविसंघ हुँदै पार्टी राजनीतिमा आएका मिश्रले २०४६ सालमा नेविसंघबाट राजनीति सुरु गरेका हुन् । २०५१ सालमा सरस्वती क्याम्पसमा इकाइ सचिव समेत बनेका मिश्र २०५६ मा नेविसंघ नुवाकोटको सदस्य, हुँदै साबिक कविलास गाउँ इकाइ सभापति समेत बनेका थिए ।

पार्टीको १०औँ र ११औँ महाधिवशेनमा गाउँ इकाइ सचिव, १२औँ महाधिवेशनमा सभापति हुँदै १३औँ महाधिवेशनमा नेपाली कांग्रेस नुवाकोटको सदस्य बनेका उनी १४औँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका छन् ।

राजनीतिसँगै बैंक तथा वित्तीय क्षेत्रमा समेत उनी आबद्ध छन् । पारिवारिक पृष्ठभूमिबाटै राजनीतिमा लागेका मिश्र सहकारी संघ नुवाकोट जिल्लाको १० वर्ष सभापति समेत बनेका थिए ।

आगामी स्थानीय तहको निर्वाचन नजिकिएसँगै मिश्रले भेटघाट तथा छलफललाई तीव्रता दिएका छन् । नेता खनाल डा. रामशरण महतनिकट मानिन्छन् ।

माधव खनाल

पञ्चकन्याबाट आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अगाडि आएको अर्को नाम हो, माधव खनाल । पूर्वअर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिने नेता खनाल पार्टी राजनीतिबाटै अघि आएका हुन् ।

२०४९ सालमा तत्कालीन कविलास गाविसको उपाध्यक्ष बनेका खनाल २०५९ मा कविलास गाविसको अध्यक्ष बन्दै पार्टीको १३औँ महाधिवेशनसम्म आइपुग्दा कविलासको इकाइ सभापति बने । उनले लामो समय राष्ट्रिय माद्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा काम गरेका छन् ।

त्यस्तै पार्टीको १४औँ महाधिवेशनबाट खनाल नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिकाको सभापतिमा निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै नेता खनालले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

यमबहादुर थापा

पञ्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका लागि चर्चा भएको अर्को नाम हो, यमबहादुर थापा । २०४९ मा तत्कालीन भद्रुटार गाविसका उपाध्यक्ष जितेका थापाले सोही कार्यकालमा कार्यवाहक गाविस अध्यक्ष समेत रहेर काम गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिने नेता थापा जिल्लामा सुकुमबासी समस्या समाधान आयोगमा समेत बसेर काम गरेका छन् । पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेका नेता थापा कांग्रेसको ११औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य बनेका थिए भने १२औँ महाधिवेशनमा जिल्ला कार्यसमिति उपसभापति बनेका थिए ।

त्यसो त पार्टीको १४औँ महाधिवेशनमा पञ्चकन्याबाट सभापतिको प्रत्यासी समेत रहेका थिए । गाउँघरमा स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै थापाले पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

उपेन्द्र कुँइकेल

पञ्चकन्याबाट आगामी स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, उपेन्द्र कुँइकेल । पेसाले पूर्वस्वास्थ्यकर्मी रहेका कुँइकेल भद्र र मिजासिलो स्वभावका मानिन्छन् ।

जिल्लामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिने कुँइकेल पार्टीको १३औँ महाधिवेशनमा साबिक क्षेत्र नं १ को क्षेत्रीय सभापतिको प्रत्यासी रहेका थिए भने १४औँ महाधिवेशनमा केसीसमूहबाट जिल्ला उपसभापतिको प्रत्यासी रहेका थिए ।

सोही क्रममा माथि उल्लिखितसहित केही युवापङ्क्तिका नेताहरूको नाम समेत गाउँपालिका प्रमुखको आकांक्षीको रुपमा अगाडि आएको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का सचिव जगदिश कुइँकेलको नाम समेत मेयरको आकांक्षीको रूपमा अगाडि आएको छ ।

चुनावी सरगर्मी बढेसँगै कुँइकेलले पनि राजतीतिक छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?