काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दीक्षा कटुवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी छन् ।
मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आइत बहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समीक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थमा पुगेको थियो ।
प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकाेप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया