सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन ओलीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् ।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे ।

महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिएका हुन् ।

अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ्ग राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङ्गबाट नतर्सिन पनि आग्रह गरे । उनले अध्यक्ष ओलीलाई मतपत्रको रङ्गभन्दा पनि आफ्नो ढङ्ग सच्याउन सुझाव दिए ।

उनले भने, ‘कुन रङ्ग राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङ्गले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मतपरिणाम हेरेर तर्सिनु पर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।”

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ्ग राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङ्गबाट नडराउन आग्रह गरे ।

उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरुको समीक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिए ।

उनले भने, ‘कमरेड केपी ओलीले ५ वर्षको शासन चलाउँदै गर्दा ३ वर्षमा कति ठीक ढंगले शासन गर्नुभयो । कति दिएका आश्वासन पूरा गर्नुभयो । कति सैद्धान्तिक रुपमा सही कर्म गर्नुभयो । कति स्थिरताका लागि दिएका वचन पूरा गर्नुभयो । हामीमाथि प्रश्न गरौँ न । सैद्धान्तिक वहस गरौँ, वैचारिक वहस गरौँ । समृद्धिको सवालमा वहस गरौँ । मतपत्रमा कालो, हरियो रातो, पहेँलो यस्तो रङको बारेमा वहस गर्ने विषय होइन । सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूलाई यो खालको खुद्रा वहस नभएर जिम्मेवार ढंगको राष्ट्रिय प्रश्नको बहसमा आउन म अपिल गर्दछु ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखून् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?