कागेश्वरी मनोहरामा बढ्यो चुनावी सरगर्मी : यी हुन् कांग्रेसबाट मेयरका आकांक्षी

काठमाडौंको पूर्वी भागमा अवस्थित छ, कागेश्वरी मनोहरा नगरपालिका । साबिकको गागलफेदी गाविसमा अवस्थित ऐतिहासिक धार्मिकस्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो ।

साबिकका गागलफेदी, गोठाटार, डाँछी, भद्रवास, मूलपानी, आलापोटलगायतका गाविसहरूको समायोजन गरी २०७१ सालमा कागेश्वरी मनोहरा नगरपालिका बनाइएको हो ।

भक्तपुर जिल्लासँग समेत सीमाना जोडिएको यस नगरपालिकामा काठमाडौंको राजनीतिका लागि महत्वपूर्ण नगरपालिकाको रूपमा हेर्ने गरिन्छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यतिबेला कागेश्वरी मनोहरामा पनि चुनावी सरगर्मी बढेको छ ।

कागेश्वरी मनोहरामा यतिबेला विभिन्न राजनीतिक दलले स्थानीय तहलक्षित कार्यक्रमहरू अघि बढाउन थालेका छन् भने मेयर, उपमेयरदेखि वडातहसम्मका उम्मेदवारहरू आकांक्षीको रूपमा अघि आउन थालेका छन् ।

सो क्रममा कागेश्वरी मनोहरामा नेपाली कांग्रेसले तयारी थालेको छ । आगामी स्थानीय तहको निर्वाचनमा मेयरका लागि कांग्रेस पार्टीदेखि विभिन्न भातृसंगठनमा विभिन्न जिम्मेवारीमा रहेकाहरू आकांक्षीको रूपमा आधा दर्जन अनुहारहरू देखा परेका छन् ।

हाल कागेश्वरी मनोहराबाट शंकर थापा, शशांक श्री न्यौपाने, कृष्णजी खड्का, गोविन्द पुडासैनी, उद्धव दाहाल, उद्धव खड्का, उपेन्द्र कार्की र कविर शर्मा फुयाँललगायत आकांक्षीको रूपमा अघि देखिएका छन् ।

को को छन् मेयरका आकांक्षी ?

शंकर थापा

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौंको कागेश्वरी मनोहरामा कांग्रेसको तर्फबाट मेयरको आकांक्षीको रूपमा आएको नाम हो, शंकर थापा । पुराना राजनीतिज्ञ मानिने थापा २०३६ सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

केन्द्रमा संस्थापन पक्षधर मानिने नेता थापा पटक–पटक महाधिवेशन प्रतिनिधि बनेका छन् । लामो समयसम्म पार्टीमा आबद्ध भए पनि कुनै लाभको पद नलिएका थापा आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा अघि देखिएका छन् ।

सरकारले आगामी स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेता थापाले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

उपेन्द्र कार्की

यसअघिको स्थानीय निर्वाचनमा समेत कागेश्वरी मनोहराबाट मेयरको प्रत्यासी रहेका उपेन्द्र कार्की आगामी निर्वाचनमा पनि स्वाभाविक उम्मेवदार मानिन्छन् ।

कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता कार्की केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । काठमाडौं क्षेत्र नं २ का पूर्वसभापति समेत रहेका नेता कार्की पार्टीको १४औँ महाधिवेशनमा काठमाडौं महानगरको सभापतिको प्रत्यासी रहेका थिए । यद्यपि निजकाजी शाक्यसँग उनी पराजित भएका थिए ।

आगामी स्थानीय तहको निर्वाचनमा नेता कार्कीले आफूलाई मेयरको उम्मेदवारको रूपमा अघि बढाउनका लागि छलफल तथा भेटघाटलाई तीव्रता दिएका छन् ।

शशांक श्री न्यौपाने

आगामी स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरामा कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो शशांकश्री न्यौपाने । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका नेता न्यौपाने पार्टी र पार्टीको भातृ संगठनका विभिन्न जिम्मेवारी पूरा गरेका छन् ।

कांग्रेस युवानेता प्रदीप पौडेलसँग निकट मानिने न्यौपाने नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को पूर्वकेन्द्रीय सदस्य, नेविसंघ पोखरा विश्वविद्यालयको उपाध्यक्ष साथै प्राविधिक विद्यार्थी परिषद्को उपाध्यक्ष समेत रहेका थिए ।

कोरोना कहरमा नेपाली कांग्रेसको ‘कोरोना परीक्षण एप’को संयोजक र नेकाकै विदेशबाट नेपाली नेपाल फर्काउन सहयोगी एप ‘रेस्क्यु नेपाली एप’को सहसंयोजक, साथै नेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जारी गरेको ‘प्लाज्मा एप’मा संयोजकत्वा भूमिकामा रहेका थिए । स्थानीय तहको निर्वाचन घोषणासँगै न्यौपाने मेयरको आकांक्षीको रूपमा अघि आएका छन् ।

कृष्णजी खड्का

कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै कांग्रेसबाट मेयरमा अघि आएको अर्को नाम हो, कृष्णजी खड्का । खड्का नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल काठमाडौंका जिल्ला सभापति हुन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय खड्का लामो समय तरुण दलमा काम गरेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहनिकट मानिने खड्का आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा देखिएका छन् ।

गोविन्द्र पुडासैनी

कागेश्वरी मनोहरामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, गोविन्द पुडासैनी । नेपाली कांग्रेस काठमाडौंको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका पुडासैनी हाल काठमाडौं कांग्रेसको सचिव हुन् ।

पूर्वकोषाध्यक्ष समेत रहेका नेता पुडासैनी पार्टीमा नेता प्रकाशमान सिंहनिकट मानिन्छन् । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै पुडासैनीले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

उद्धव दाहाल

कागेश्वरी मनोहराबाट आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरको आकांक्षीको रूपमा उद्धव दाहालको नाम चर्चामा रहेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेता दाहालले स्थानीयस्तरमा भेटघाटलाई तीव्रता दिएका छन् ।

हाल नेता दाहाल कागेश्वरी मनोहरा नगरपालिका कांग्रेसका नगरसभापति हुन् । नेता दाहाल केन्द्रमा संस्थापन निकट मानिन्छन् ।

उद्धव खड्का

आगामी स्थानीय निर्वाचनमा कागेश्वरी मनोहराबाट मेयरका लागि आकांक्षीको रूपमा चर्चामा आएको अर्को नाम हो, उद्धव खड्का ।

पार्टीको १४औँ महाधिवेशनबाट काठमाडौं क्षेत्र नं २ ‘ख’ का प्रदेश सभापति समेत रहेका छन् । नेता खड्का यसअघि पनि पार्टीको महाधिवेशन प्रतिनिधि बनेका थिए । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेता खड्काले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

कविर शर्मा फुयाँल

आगामी स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहराबाट कांग्रेसबाट मेयरका लागि चर्चामा आएको अर्को नाम हो, कविर शर्मा फुँयाल । काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय सभापति समेत रहेका नेता फुयाँल नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

केन्द्रमा संस्थापननिकट मानिने नेता फुयाँल त्रिचन्द्र क्याम्पसमा स्ववियु सदस्य समेत भएका थिए ।

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । त्यससँगै नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउँदै थप माहोल सिर्जना गर्न लागेको छ ।

सोहीअनुसार काठमाडौंको कागेश्वरी मनोहरामा पनि स्थानीय निर्वाचनलक्षित विभिन्न कार्यक्रमहरू हुन थालेका छन् भने मेयरका आकांक्षीहरूले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?