यी हुन् नेपालको सबैभन्दा बढी व्यापारघाटा भएका १० देश (सूचीसहित)

लोकपथ
1.6k
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारघाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात ।

विभागको तथ्याङ्कअनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ । ती १० देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स ९युएई०, अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारघाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत । पछिल्लो सात महिनामा नेपालको भारतसँग व्यापारघाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालको चीनसँग व्यापारघाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार रहेको छ । यो समयमा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँ र नेपालबाट चीनमा ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । यस वर्ष इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँ र नेपालबाट इन्डोनेसियामा २ करोड ४३ लाख ५२ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको चौंथो ठूलो व्यापार घाटा यूएईसँग रहेको छ । पछिल्लो सात महिनामा युएईसँग नेपालाको व्यापारघाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस वर्ष नेपालले यूएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही समयमा नेपालले युएईमा २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको वस्तु पठाएको छ ।

नेपालको पाँचौ ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ । बितेका सात महिनामा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा २८ अर्ब ८९ करोड ८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो समयमा अर्जेन्टिनाबाट नेपालमा २८ अर्ब ८९ करोड २२ लाख १ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अर्जेन्टिनामा मात्र १३ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालको छैटाैँ ठूलो व्यापारघाटा अमेरिकासँग रहेको छ । वितेको सात महिनामा अमेरिकासँग नेपालको व्यापार घाटा २० अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँ रहको छ । उक्त अवधिमा अमेरिकाबाट नेपालमा ३० अर्ब ३ करोड २१ लाख ६० हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अमेरिकामा ९ अर्ब ९१ करोड ५७ लाख ४४ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको सातौं ठूलो व्यापारघाटा अष्ट्रेलियासँग छ । भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा नेपालको अष्ट्रेलियासँग व्यापार घाटा १५ अर्ब ६४ करोड ३४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अष्ट्रेलियाबाट १६ अर्ब २८ करोड ६९ लाख ६८ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ६४ करोड ३५ लाख ७ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको छ ।

नेपालको आठौँ ठूलो व्यापारघाटा युक्रेनसँग रहेको छ । यस वर्ष नेपालको युक्रेनसँग व्यापारघाटा १४ अर्ब ४२ करोड १७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले भने मात्र १५ लाख ७८ हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको छ ।

नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो । मलेसियासँग बितेका सात महिनामा व्यापारघाटा ११ अर्ब ५० करोड ५८ लाख १९ हजार रुपैयाँ रहेको छ । सो अवधिमा मलेसियाबाट ११ अर्ब ५६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु मलेसिया गएको छ ।

नेपालको १०औँ ठूलो व्यापारघाटा बंगलादेशसँग रहेको छ । गत साउनदेखि माघसम्म बंगलादेशसँग नेपालको व्यापार घाटा ७ अर्ब ४२ करोड ३० लाख ९० हजार रुपैयाँ रहेको छ । सो समयमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?