स्थानीय निर्वाचनमा जुट्यो आयोग : मतपत्रमा निर्वाचन चिह्न हरियो रङ्गको हुने

लोकपथ
91
Shares

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारीलाई तीव्र बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै आयोगले तयारी तीव्र बनाएको हो ।

सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङ्गको हुने बताएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाइ सामग्रीहरु, निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिएका छन् ।

उनले मतदाता नामावली अद्यावधिक दाबी–विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको पनि बताए ।

उनले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचनसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचनाबमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरु मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि बताए ।

आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?