काठमाडौं । केही दिनको अन्तर पारेर रिलिज भएका दुई फिल्मका ट्रेलरलाई डायलग (संवाद) चोरीको आरोप लागेको छ । अझ रमाइलो कुरा त के छ भने, दुवै फिल्मले एउटै लेखकबाट संवाद सापटी लिएका छन् ।
युवापुस्तामाझ लोकप्रिय लेखक सुविन भट्टराईले फिल्म ‘कायरा’ को ट्रेलर रिलिज भएको केही समयमै आफ्नो फेसबूक स्टाटस चोरी भएको आरोप लगाएका थिए । हुन पनि फिल्ममा हिरो आर्यन सिग्देलले बोल्ने डायलग हुबहु सुविन भट्टराईकै फेसबूक स्टाटस थियो । उनले त्यही स्टाटस शेयर समेत गरेका थिए ।
त्यसको केही दिन नबित्दै उनले फेरि अर्को फिल्मलाई ‘चोरी’ को आरोप लगाएका छन् । ‘फिल्मको नाम ब्ल्याक रे, लौ हेर्नुस् यही ब्ल्याकको कालो कर्तुत, नेपाली फिल्म जगतको चोरी (यसलाई डकैती नै भने भो) अझै कति सहनुपर्ने हो’, भट्टराईले सामाजिक सञ्जालमा रिस पोख्दै लेखेका छन्, ‘योपटक पुस्तकबाटै चोरेछन् ।’
चोरिएको संवाद पनि उनले खुलाएका छन् – ‘हामी दुवैबीच प्रेम थियो या थिएन, तर केही त थियो, जो प्रेमजस्तै मिठो थियो ।’ (उपन्यास मनसुन, पेज नम्बर ७३)
साथै उनले आम दर्शकलाई ‘यति जाबो चोर्दैैमा के हुन्छ’ भन्ने खालको कुतर्क नगर्न पनि आग्रह गरेका छन् । चोरको विरोध नगर्नु मौन समर्थन गरेजस्तै हुने भएकाले विरोध गर्न उनले अनुरोध गरेका छन् ।
‘ब्ल्याक’ र ‘कायरा’ दुवैमा चलेका कलाकारले अभिनय गरेका छन् । यसअघि पनि सुविन भट्टराईको उपन्यास ‘समर लभ’ बाट एउटा फिल्मले संवाद चोरेको थियो । हुन त नेपाली फिल्मले पूरै फिल्म नै चोरी गर्दा पनि खासै नौलो हुँदैनथ्यो, तर पुस्तकबाट संवाद समेत चोरी हुन थालेको भने धेरै भएको छैन ।
पुस्तकमा भने कुनै अंश या पूरै कथा साभार गरेको पाइने छैन भनेर लेखिएको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया