काठमाडौं । नाबालिकामाथिको यौन दुर्व्यहार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणबारे समाचार प्रकाशन गर्दा शंवेदनशील बन्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।
शाहमाथि हिरासतमा अनुसन्धान भइरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारले पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै महासंघले त्यसबारे ध्यानाकर्षण भएको समेत जनाएको छ ।
महासंघले आज विज्ञप्ति जारी गर्दै समाचार संप्रेषण गर्दा बालसंवेदनशीलता, व्यक्तिको गोपनीयतालाई ख्याल गर्नुपर्ने र पीडितलाई संरक्षण गर्नुपर्ने, पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी समाचार तथा सूचना संप्रेषित नगर्न समेत आगह गरेकोछ ।
‘कलाकार पल शाह हिरासतमा रहेको विषयलाई लिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र पत्रकारबाट संप्रेषित भइरहेका समाचार तथा सूचनाले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन हुन गएको पाइएकोले त्यसप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । पत्रकार आचारसंहिता–२०७३ मा समाचार संप्रेषण गर्दा बालसंवेदनशीलता, व्यक्तिको गोपनीयतालाई ख्याल गर्नुपर्ने र पीडितलाई संरक्षण गर्नुपर्ने, पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी समाचार तथा सूचना संप्रेषित गर्न नहुनेजस्ता व्यवस्था छन् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै महासंघले समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न तथा कानुनले बर्जित गरेका विषय एवं पीडितको पहिचान गोप्य राख्नुपर्ने र बालबालिकासँग जोडिएका विषयहरूमा समाचार प्रकाशन, प्रसारण गर्दा पत्रकारिताको आधारभूत मूल्यमान्यता र सिद्धान्तप्रति गम्भीर बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया