काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित भएपछि पार्टीभित्र चरम असन्तुष्टी बढिरहेका बेला बैठक बोलाइएका कारण महत्वका साथ हेरिएको छ ।
बैठकमा उपस्थित माओवादीका केन्द्रीय सदस्यहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन् । महाधिवेशनका विषयमा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए । उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताए । केन्द्रीय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे ।
केन्द्रीय सदस्य क्षेत्रीले भने, ‘एमसीसीको बारेमा हामीले पहिल्यै नेकपा हुने बेलामा पनि हामी एउटा कमिटी बनाएका थियाँै झलनाथ खनालको नेतृत्वमा । त्यसले सुझाव दिएको थियो । माओवादी पार्टीले एमसीसी संशोधन बिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो । अहिले जसरी बहस उठ्यो गठबन्धन भित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल ग¥यौं । व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई हामीले धेरै छलफल ग¥यौं । अहिले सदनले त्यसलाई पास गरेको छ । एकथरि साथीहरुले त्यसलाई बिरोध गरिरहनु भएको छ । नेपालीहरुको एउटा सोच कस्तो भयो भने हामी अमेरिकालाई सधैँ साम्राज्यवाद देख्ने, भारतलाई सधैँ बिस्तारवाद देख्ने कोण जो बन्यो, त्यसले गर्दा थुप्रै सम्झौताहरु विश्व बैंकका सम्झौताहरुसँग यूएनडिपीका सम्झौताहरु, जायिका, एशिया डेभलपमेण्ट बैंकका सम्झौताहरु छन् । केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ । अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ । त्यही रुपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ । अमेरिकाले पनि स्वीकार गरेको छ । यो ठिक हो भन्ने लागेको छ । पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन ।’
त्यस्तै पार्टी केन्द्रीय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे । उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गरे । केन्द्रीय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए । उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उनको भनाइ छ ।
केन्द्रीय सदस्य दाहालले भने, ‘पहिलो कुरा के बुझ्न जरुरी छ भने महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन । यो भ्रम छ जस्तो लाग्यो । महाधिवेशनमा परिमार्जनसहितको अनुमोदन गर्ने भन्ने कुरा हो । अहिले व्याख्यात्मक घोषणा जो भएको छ र त्यसका क्रिया, प्रतिक्रिया यहाँसम्म आइरहेका छन्, त्यसबाट महाधिवेशनले जे भनेको थियो, त्यो भन्दा अलिकति पनि दायाँबायाँ छ भन्ने मलाई लाग्दैन । एमसीसी जसरी आएको थियो, त्यसको संशोधनको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले दिएको छ । महाधिवेशनले भनेको दिशातिर नै अघि बढेको छ । अब कुटनैतिक संघर्ष बाँकी छ उताबाट अनुमोदन गराउन । व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेशनले मान्यो भने मलाई लाग्छ, हामीले खोजेको मानो र पाएको पाथी जस्तो हुन्छ । पदाधिकारीको चयन जतिसक्दो छिटो गर्दा राम्रो हुन्छ ।’
त्यसैगरी अर्का केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे । केन्द्रीय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अध्यारोमा जानबाट रोकेको बताए । उनले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताए ।
केन्द्रीय सदस्य पौडेलले भने, ‘हाम्रो पार्टीको ८ औँ महाधिवेशनले एमसीसी बारेमा जुन निर्णय गरेको थियो । त्यो निर्णयको विषयमा भर्खरै सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ । पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि व्याख्यात्मक सहमति व्यवहारिक छ । यो भन्दा अर्को उत्तम हुनसक्ने अवस्था हुँदैन थियो । त्यो नभएको भए गठबन्धन टुट्थ्यो, एमसीसी पास हुन्थ्यो र फेरि केपी ओलीको नेतृत्वमा वा प्रतिगमनकारीको नेतृत्वमा देश पछि फर्किन सक्थ्यो । अध्यारो सुरुङ्गबाट देशलाई जानको लागि हाम्रो पार्टीको नेतृत्वले जुन किसिमको कुशलपूर्वक मिहेनत ग¥यो त्यसलाई नेतृत्वप्रति आभार व्यक्त गर्नुपर्छ । आजको बैठकबाट पदाधिकारीको चयन सम्भव हुनसक्ला । समयको पावन्दी आदि इत्यादी भयो भने नहुन पनि सक्ला । सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्छ ।’
त्यस्तै अर्का केन्द्रीय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताए । उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए ।
केन्द्रीय सदस्य दाहालले भने, ‘यो एमसीसीको विषय महाधिवेशनमा पनि उठेको विषय हो । परिमार्जनसहित एमसीसीको म्याण्डेट दिएको हो महाधिवेशनले । जो राष्ट्रघाती मुद्दा छन्, नेपाललाई नेपालको रुपमा नस्वीकारेका विषयहरु छन् ती विषय हट्नुपर्छ भन्ने हाम्रो महाधिवेशनको मान्यता हो । त्यो १२ बुँदे व्याख्यात्मक घोषणाभित्र नै त्यो पर्छ । ११ बुँदे घोषणापत्र एक किसिमले परिमार्जन नै हो । यसले समस्या समाधान ग¥यो । महाधिवेशन पछि एमसीसीले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको थियो । यसलाई किनारा नलगाइकन बैठक बस्न सकेन । बैठक नबसेपछि पदाधिकारी चयन हुन सकेन । सर्वसम्मत भएन भने निर्वाचनको विधिबाट पनि नेतृत्व चयन गर्नुपर्छ ।’
नेता दाहालले एमसीसी पास भएपछि पार्टीमा केही अन्तरविरोधहरु देखा परेको उल्लेख गर्दै केन्द्रीय समिति बैठकले समाधान गर्ने बताए । उनले सर्वसम्मत रुपमा पार्टी पदाधिकारीको चयन हुनुपर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट पनि पदाधिकारी चयनको प्रक्रियालाई मूर्तरुप दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया