धादिङ- मार्पाक र सत्यदेवीमा बुधबार राती गएको ठूलो पहिरोमा परि ५ जना बेपत्ता भएका छन् भने ७ वटा घर पुरिएको छ । जिल्लाको उत्तरी भागमा गएको यो पहिरो निकै ठूलो रहेको स्थानीयबासीले जानकारी दिएका छन् । पहिरोमा परि ४ जना घार्इते भएका छन् ।
खनीयाबास गाउँपालिका-५, सत्यदेवीस्थित सार्इँश्वारामा स्थानीय राजु गोलेको घर पहिरोले बगाएको छ । गोलेका श्रीमती र दुर्इ नातिनीहरू पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
खनियावासकै ४ नम्बर वडास्थित चिउरीबोटमा पनि पहिरोले एक घर पुरिएको छ । पहिरोमा शम्शेर घले र कोप्ची घले बेपत्ता भएका छन् ।
रातभरको अविरल बर्षाले पहाडलार्इ कमजोर बनाएपछि गएको पहिरोमा नेत्रावती डप्जोङ गाउँपालिकास्थित मार्पाकमा ५ घर पहिरोमा परेका छन् ।
ठूलो मानवीय र भाैतिक क्षति भएको पहिरोस्थल जिल्ला सदरमुकाम धादिङबेशीबाट १ दिनको पैदल दुरीमा अवस्थित छ । उद्दारका लागि चिउरीखर्कमा र्इलाका प्रहरी कार्यालय दार्खाको टोली पुगेपनि सार्इँश्वारामा भने उद्दार टोली अझै पुग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङले उद्दारका लागि प्रहरी फोर्स घटनास्थलतर्फ पठाएको छ। पहिरोबाट भएको एकीन क्षतिको विवरण अझै अार्इसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया