अझै हुन सकेन हात्तीपाइले निवारण : दशौँ पटक सञ्चालन गरिँदै ‘आम औषधि सेवन अभियान’

धनगढी । कैलालीमा अझै पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन । जिल्लामा हात्तीपाइले रोग निवारणका लागि विभिन्न चरणका अभियान भइरहे पनि जिल्लामा हालसम्म निवारण हुन नसकेको जनाइएको छ ।

हात्तीपाइले रोग निवारणका लागि हरेक वर्ष आम औषधि सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जनाइएको छ । दशौँ चरणअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा यस पटक पनि यो अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

सन् २०१३ मा सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा अभियानका रुपमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्ला र तराईको कञ्चनपुर जिल्लामा अभियान सफल भए पनि कैलालीमा अझै हात्तीपाइले रोग निवारण भइसकेको छैन । कैलालीमा गत वर्ष पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्यअनुसारका व्यक्तिहरूले सेवन गरेका थिएनन् ।

दशौँ चरणको अभियानअन्तर्गत कैलालीमा आगामी २८ गतेदेखि आम औषधि खुवाउने अभियान सञ्चालन हुने उनले जानकारी दिए । कञ्चनपुरमा आठ पटक सो अभियान सञ्चालन गरेपछि हात्तीपाइले निवारण भएको घोषणा गरिएको थियो ।

कैलालीमा हात्तीपाइले रोगविरूद्धको औषधि सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७४÷७५ मा ६७ दशमलव नौ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७५÷७६ मा ६९ प्रतिशतले औषधि सेवन गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कैलालीमा लक्ष्यको ७५ दशमलव दुई प्रतिशत व्यक्तिले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए । आर्थिक वर्ष ७७/७८ मा ७६ दशमलव दुई प्रतिशले सो औषधि खाएको तथ्यांक रहेको छ ।

२०७६ सालमा गरिएको अध्ययनअनुसार जिल्लामा नौ दशमलव ८४ प्रतिशतले सो औषधि एक पटक पनि खाएका थिएनन् भने ९० दशमलव १६ प्रतिशतले एक पटक मात्र औषधि सेवन गरेका थिए भने ४६ दशमलव ७२ प्रतिशतले हरेक वर्ष औषधि खाएका थिए ।

त्यस्तै, २०७८ मा गरिएको अध्ययनमा अहिलेसम्म सो औषधि नखाने पाँच दशमलव तीन प्रतिशत रहेको थियो । ९४ दशमलव सात प्रतिशतले एक पटक मात्र औषधि सेवन गरेका थिए भने ४८ दशमलव पाँच प्रतिशतले हरेक वर्ष औषधि खाएका थिए ।

लक्ष्यअनुसार सबैलाई यो औषधि खुवाउनुपर्ने भएकाले कैलालीमा दशौँ चरणको अभियान सञ्चालन गर्नुपरेको उनले बताए ।

कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाइले रोगविरूद्धको औषधि सेवन गराउने लक्ष्य लिएको छ । आठ लाख ९७ हजार तीन सय ८२ जनसंख्यामध्ये आठ लाख ६९ हजार आठ सय ६९ जनालाई सो ओषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्थानीय तहहरूमार्फत सञ्चालन हुने यो अभियान चैत १५ गतेसम्म केन्द्र र घरदैलोमार्फत औषधि सेवन गराइने बताइएको छ ।

विगतमा एल्बेन्डाजोल र डीईसी चक्की मात्र सेवन गर्नुपर्ने थियो भने यस वर्ष आइभरमेक्टिन पनि सेवन गर्नुपर्ने रहेको छ । हात्तीपाइलेसँगै यो औषधि लुतो, जिम्रा पर्ने, मलेरिया लाग्न नदिन पनि काम गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

‘आम औषधि सेवन कार्यक्रमले हात्तीपाइले रोगी र हाइड्रोसिलका विरामीमा कमी हुँदै आएको भए पनि अझै पनि निवारण भने हुन सकेको छैन’, कार्यालय प्रमुख धामीले भने ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा अठ सय ११, आर्थिक वर्ष २०७४÷७५ मा आठ सय ५२, आर्थिक वर्ष २०७५÷७६ मा दुई सय दुई, आर्थिक वर्ष २०७६÷७७ मा एक सय ६४ हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरिएको थियो भने क्रमशः एक सय ४५, एक सय ३८, ६९, ५३ र ३२ जना हात्तीपाइलेको बिरामी रहेका थिए ।

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोगविरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो । अहिलेसम्म ५३ जिल्लाहरूमा हात्तीपाइले संक्रमण समुदायस्तरमा रोकिसकेको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाउनुपर्ने वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर बताउँछन् । उनले हात्तीपाइलेको औषधि घर–घरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण कैलालीमा हात्तीपाइले निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताए ।

हात्तीपाइलेको औषधि खाँदा हुनसक्ने असरबारे स्वास्थ्यकर्मीहरूले पनि राम्रोसँग मानिसलाई बुझाउन नसकेको बताए । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्यु भएको, धेरै मान्छे बिरामी परेकोजस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या कम हुनसकेको छैन ।

हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने र वाकवाकी लाग्नेजस्ता सामान्य असर देखी नसक्ने डाक्टर कमरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?