शेखर प्यानलद्वारा बमलाई समर्थन

कैलाली । नेपाली कांग्रेस कैलालीको दोस्रो चरणको मतदानमा तेस्रो बनेका संस्थापनइतर समूहका रामबहादुर कलेलले सबैभन्दा बढी मत प्राप्त गरेका उम्मेदवार प्रकाशबहादुर बमलाई समर्थन गर्ने भएका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा आफ्नो समूहले बमलाई समर्थन गर्ने घोषणा गरे ।

‘हामी भोलि उहाँका लागि सँगै मत माग्ने छौँ, उनले भने, ‘मलाई निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभारी छु । भोलि हुने दोस्रो चरणको मतदानमा बमलाई सहयोग गरिदिनुहोला ।’

उनले कुनै पद वा प्रलोभनमा नपरी सो समूहलाई समर्थन गर्न लागेको जानकारी दिए ।

‘हामीले केन्द्रले विधानविपरीत गरिरहेको निर्णय, केन्द्रको हस्तक्षेपका विरुद्ध बमलाई समर्थन गरेका हौँ, उनले भने ।

उनले अहिले केन्द्रबाट मतदाताहरुलाई डर, त्रास, प्रलोभनमा पार्नेलगायतका क्रियाकलाप भइरहेको बताए ।

पहिलो चरणको मतदानमा बमले एक हजार एक सय ६९ मत प्राप्त गरेका थिए भने नारायणदत्त भट्टले एक हजार ७२ र संस्थापनइतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये एक सय चार मत बदर भएको थियो ।

भोलि (बिहीबार) सभापति पदका लागि दोस्रो मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुँदै छ ।

बुधबार निर्वाचन समितिले बिहीबार बिहान ८ बजेदेखि संघको सभाहलमा मतदान गरिने भनी सूचना जारी गरेको छ । निर्वाचन समितिले सोहीअनुसार संघको प्राङ्गणमा मतदानको तयारी थालेको छ । यसअघि धनगढीस्थित दशरथ रंगशालामा पहिलो चरणको मतदान भएको थियो ।

मतदानलाई सभ्य, निष्पक्ष बनाउन मतदाताहरुमा कडाइ गरिएको छ । पहिलो चरणमा पार्टीले वितरण गरेको कार्ड लिएर मतदाताहरुले मतदान गरेका थिए । सो समयमा एकै जनाले अन्यको नाममा धमाधम मतदान गरेको प्रतिस्पर्धामा रहेका संस्थापन पक्षका दुवै उम्मेदवारहरुको आरोप रहेको थियो । दोस्रो चरणमा त्यस्तो हुन नदिन परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ ।

अधिवेशन मुल समारोह समितिका संयोजक तथा प्रदेश महामन्त्री नरनारायण शाह मनुले जारी गरेको सूचनामा भनिएको छ, ‘भोलि हुने दोस्रो चरणको मतदानका लागि सहभागीहरुले आ–आफ्नो परिचयपत्र–नागरिकता वा परिचय खुल्ने कार्ड लिएर पाल्नुहुन जानकारी गराउदछौँ ।’
दोस्रो चरणको निर्वाचनमा पूर्वउपसभापति तथा जनआन्दोलनका घाइते नेता नारयणदत्त भट्ट र पार्टीका वर्तमान उपसभापति प्रकाश बमबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?