बाढी, पहिरोबाट जनधनको ठूलो क्षति

–रामबहादुर थापा 

बागलुङ – गएरातिको भिषण वर्षापछि आएको बाढी पहिराले बागलुङ जिल्लामा जनधनको ठूलो क्षति भएको छ । 

पहिरोबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । 

पहिरोमा परी बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट, लुरुङ गाउँका ४० वर्षीया विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको पहिरोमा परी उनीहरुको ज्यान गएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहितको आपतकालीन उद्धार तथा राहत टोली मंगलबार दिउँसो घटनास्थल पुगी मृतक परिवारलाई राहत रकमसमेत उपलब्ध गराएको छ । “राज्यको तर्फबाट मृतक परिवारले पाउनुपर्ने राहत घटनास्थलमै पुगेर उपलब्ध गरायौँ”–प्रजिअ खरेलले भने ।

प्रहरीले मुचुल्का उठाएर मृतकका शव स्वास्थ्य परीक्षण गराएर आफन्तलाई बुझाइएको उनले बताए । बरेङ गाउँपालिकाका अन्य वडामा पनि बाढी, पहिराले क्षति पु¥याएको छ । वडा नं २ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ । 

जिल्लाभित्रका अधिकांश ग्रामीण सडक पहिराले तहसनहस बनेका छन् । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको ठाउँठाउँमा खसेका पहिराले यातायात सेवा प्रभावित बनेको छ । 

व्यक्तिगतदेखि सार्वजनिक सम्पत्तिमा समेत क्षति पुगेको छ । विशेष गरी जिल्लाको गलकोट र दक्षिण भेगमा बाढी पहिराले बढी क्षति पु¥याएको हो । 

भौतिक क्षतिको एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मानवीय क्षतिको घटनामा भने प्रहरीले तत्कालै उद्धार कार्य गरेको छ । 

स्थानीय हुग्दीखोलामा आएको बाढीले तटीय क्षेत्रका खेत बगाएको छ । सयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताए ।

उनका अनुसार पहिरोकै कारण दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । “सबै ठाउँको घटना विवरण आउन बाँकी छ,” प्रजिअ खरेलले भन्नुभयो, “घरगोठ, खेतबारीदेखि सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।” 

उता, गलकोट क्षेत्रमा पनि बाढी, पहिराले जनजीवन प्रभावित बनेको छ । गलकोट नगरपालिकाभित्रका अधिकांश गाउँ जोड्ने सडक अवरुद्ध बनेको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।

उनले पहिरो गएका ठाउँको स्थलगत अवस्था बुझ्न नगरपालिकाका प्रमुख भरत शर्मा गैरे नेतृत्वको टोली घटनास्थल पुगेको छ । “क्षतिको अवस्था हरेर तत्काल राहात उपलब्ध गराउँछौँ”– वडा अध्यक्ष भण्डारीले भने ।

वडा नं ७ मल्मस्थित हुल्लीखोलामा आएको बाढीले दीपज्योति प्रावि जाने झोलुङ्गे पुल बगाएको प्रअ वीरबहादुर चोखालले बताए । मानववस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्ध पनि बाढीले बगाएको छ । 

मल्मकै झिर्कामा पहिराले घर भत्काएपछि हिराबहादुर थापाको परिवार विस्थापित भएको छ । वडा नं ५ हरिचौरस्थित खहरेखोलामा आएको बाढीले यात्रु प्रतिक्षालय, मन्दिरको पार्टी बगाएको छ । बाढीको कटानले अन्य भौतिक संरचना जोखिममा रहेको स्थानीयबासी सचिन निहुरेले जानकारी दिए ।

पहिराको जोखिमले वडा नं २ नरेठाँटी र एक दुदिलाभाटीका केही परिवार छिमेकीकोमा सरेका छन् । पहिरोको डरले स्थानीयबासी रातभर जाग्राम बसेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?