कैलाली कांग्रेस जिल्ला अधिवेशन : केन्द्र र प्रदेशको असर

कैलाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिले सभापति पदका आकांक्षी नारायणदत्त भट्टको प्यानललाई आधिकारिता दियो ।

सोहीअनुसार उनको नेतृत्वमा खडा भएको प्यानल चुनावी मैदानमा होमिएको थियो । आइतबार सम्पन्न मतदानको सोमबार साँझ सभापति पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

दुई हजार पाँच सय ७२ जना मतदाता रहेको जिल्लामा दुई हजार पाँच सय ४२ मत खसेको थियो । सो मतपरिणामअनुसार सभापतिमा संस्थापनपक्षका मानिएका प्रकाश बमले एक हजार एक सय ६९ मत प्राप्त गरे । भट्ट र बम दुई जनामाथि कडा प्रतिस्पर्धा भइरहेको थियो ।

पार्टीको आधिकारिक सभापति घोषणा गरिएका भट्टले एक हजार ७२ र संस्थापनइतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये एक सय चार मत बदर भएको छ ।

उम्मेदवार बम र भट्टले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्ने विश्वास लिएका थिए । भट्टको पक्षमा पार्टीका केन्द्रीय सदस्यहरूको समर्थन रहेको थियो भने बमको पक्षमा पार्टीका वर्तमान प्रदेश महामन्त्री नरनारायण शाम (मनु)को समर्थन रहेको थियो ।

पार्टीको पहिलो चरणको मतपरिणाम हेर्दा केन्द्रको राजनीतिदेखि जिल्लाका कार्यकर्ताहरू रुष्टजस्तै देखिएको छ । पार्टीमा व्यक्तिवाद हाबी हुँदै गएको, चुनाव महँगो बन्दै जानु, पार्टीमा लामो समय योग्दान पुर्याएका गरिब, निमुखा कार्यकर्ताहरूको पहुँच बन्न नसक्नुलगायतका कारण पार्टीभित्रका कार्यकर्ताहरूमा रुष्टता बढ्दै गएको देखिन्छ ।

जिल्लाको निर्वाचनमा २०७४ सालको प्रतिनिधि निर्वाचन र भर्खरै सम्पन्न भएको पार्टीको प्रदेश अधिवेशनको पनि प्रभाव परेको देखिन्छ । २०७४ सालमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवापत्नी नेतृ डाक्टर आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी थिइन् ।

तर, उनी अहिलेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य नारदमुनि रानासँग पराजित भएकी थिइन् । सो समयमा नेतृ डाक्टर आरजुले टिकट पाएको भन्दै पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार बमले पार्टीको सो पदबाट राजीनामा दिएका थिए भने वर्तमान प्रदेश महामन्त्री नरनारायणले प्रचार–प्रसार नगरी धनगढीमै हुँदा पनि टीकापुरमा रहेको भन्दै सो समयमा उनलाई असहयोग गरेका थिए ।

भर्खरै सम्पन्न प्रदेश अधिवेशनमा नरनारायण शाह सभापति पदका आकांक्षी थिए । तर, नेतृ डाक्टर आरजुकै अनिच्छाका कारण सभापति पदमा डोटीका नेता वीरबहादुर बलायरलाई उम्मेदवार बनाई पठाएका थिए । नरनारायण शाह नेतृ डाक्टर आरजुकै कारण प्रदेश महामन्त्री पदमा सीमित हुनुपरेको थियो ।

यसै कारण वर्तमान प्रदेश महामन्त्री केन्द्रको दबाबविरुद्ध थिए । जिल्लामा डडेल्धुराको असर पनि परेको छ । पार्टी सभापति देउवाको वर्चश्व रहेको डँडेल्धुरामा निवर्तमान सभापति कर्णबहादुर मल्ल जिल्ला महाधिवेशनविरुद्ध रही अनशन तथा आन्दोलनमा थिए । सभापति देउवाले सो जिल्लामा एकलौटी ढंगले अधिवेशन सम्पन्न गराएका थिए ।

डँडेल्धुरा र प्रदेशको असर केन्द्र र कैलालीमा देखिएको थियो । महामन्त्री नरनारायण र मल्लको इशारामा निधि प्यानलबाट दिव्यश्वरी शाहलाई उम्मेदवार बनाएका थिए । दिव्यश्वरी शाह र प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल नाताले सासू–ज्वाइँ हुन् । केन्द्रमा दिव्यश्वरी पराजित भइन् भने प्रदेशमा सभापति पद नपाएपछि कैलालीमा उनले बमलाई समर्थन गर्दै संस्थापन प्यानलबाट दुईवटा प्यानल निर्माण गरेका थिए ।

कार्यकर्ता भन्छन्–‘आफन्तवाद हाबी भयो’

पार्टीको केन्द्रले नारायणलाई आधिकारिक सभापतिको उम्मेदवार बनाएपछि उनको नेतृत्वमा जिल्लामा प्यानल खडा गरियो । जसमा केन्द्रीय सदस्य तथा जिल्लाका नेताहरूले आफ्ना उम्मेदवारहरू छनोट गर्न थाले । केन्द्रीय सदस्य नृपबहादुर वडले सचिवमा अमृत बिसीलाई उम्मेदवार बनाउन आन्तरिक छलफलमा दबाब दिए भने पूर्वमन्त्री रामजनम चौधरीले भाई रामप्रसाद चौधरीलाई उपसभापति पदमा उम्मेदवार बनाएका थिए ।

वड र रामजनमजस्तै सो बैठकमा रहेका अधिकांश नेताले आ–आफ्नो उम्मेदवार छनोट गरी प्यानल निर्माण गरेका थिए । जसले गर्दा अहिले नेता एकातिर र कार्यकर्ता अर्को लयतिर लाग्नुपरेकोे देखिएको छ ।

‘नेताहरूको दबाब थियो । कार्यकर्ताको मन अर्कैतिर भए पनि बाध्यकारी रुपमा अर्कोतिर मत गर्नुपर्ने पनि अवस्था आएको छ’, एक कार्यकर्ताले भने, ‘आधिकारिक उम्मेदवारलाई सहयोग नगरे राजनीति गर्न थप प्रभाव पार्छ ।’

केही मतदाताहरूले दबाबमा आधिकारिक उम्मेदवारलाई मतदान गरे पनि अधिकांसको रोजाइमा संस्थापनपक्षकै उम्मेदवार बम थिए । बमले कुल मतमध्ये ५१ प्रतिशत पुर्याउन भने सकेनन् तर, आधिकारिक उम्मेदवारभन्दा बढी मत प्राप्त गरेका छन् ।

‘पार्टीभित्र व्यक्तिवाद हाबी भयो । केन्द्रले जसलाई आधिकारिकता दिए पनि पार्टीका कार्यकर्ताले सही, असल र पार्टीमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई मतदान गर्छ’, एक नेताले भने ।

जिल्लामा संस्थापन पक्ष बलियो मानिएको कैलाली जिल्लामा संस्थापनकै दुई प्यानल खडा भएपछि प्रतिस्पर्धा बढेको थियो ।

‘केन्द्रको निर्णयले जिल्लामा पार्टीलाई थप कमजोर बनाएको छ । आधिकारिक उम्मेदवार भनेपछि नचाहेर भए पनि समर्थन गर्नुपरिरहेको छ । यसले मलाई पनि असर पारेको छ’, एक जना केन्द्रीय सदस्यले भने ।

बार्गेनिङमा शेखर प्यानल

जिल्लामा शेखर प्यानलले १४औँ महाधिवेशनमा कैलालीमा रामबहादुर कलेलको नेतृत्वमा प्यानल खडा निर्माण गर्यो । कलेलले पहिलो चरणको मतदानमा एक सय ९७ मत प्राप्त गरे । अब दोस्रो चरणको निर्वाचन हुने भएपछि सो समूहले कुन प्यानललाई समर्थन गर्ने भन्दै आन्तरिक छलफल अगाडि बढाएको छ ।

स्रोतका अनुसार सो समूह आफ्ना कार्यकर्तालाई स–सम्मान ठाउँमा ल्याउने प्यानललाई सहयोग गर्ने तयारीमा रहेको छ ।

‘सबैभन्दा बढी मत पाउनेलाई सहयोग गर्ने वा हाम्रा कार्यकर्तालाई स–सम्मान ठाउ“मा ल्याउनेलाई सहयोग गर्ने भनी छ दलीय कार्यसमिति गठन गरिएको छ’, ती नेताले भने ।

पार्टीको विधानअनुसार जिल्ला कार्यसमितिमा २७ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । सो प्यानल सो समितिमा आफना १३ जनालाई मनोनित गर्नेलाई समर्थन गर्ने तयारीमा रहेको छ । अब आउने स्थानीय तहको निर्वाचनमा पनि हाम्रा कार्यकर्तालाई उम्मेदवार बनाउन पनि सो समुहले दबाब दिनेछ ।

लम्बियो दोस्रो चुनाव

आइतबार राति मतदान सम्पन्न भए पनि समयमै मतगणना हुन सकेन । राति १ बजे सूचना टाँस गरी सोमबार १० बजे मतगणना गरिने निर्वाचन समितिले जनाएको थियो । तर, सोमबार मतगणनाका नियमहरूमा तीन पक्षको सहमति नहुँदा ढिला गरी मतगणना सुरु भएको थियो । दिउँसो साढे दुई बजे सुरु भएको मतगणना साँझ पाँच बजेर २० मिनेटमा सम्पन्न भएको थियो ।

साँझ मतगणना सम्पन्न भएपछि मंगलबार मतदान प्रक्रिया अघि बढाउन पक्षमा निर्वाचन समिति नरहेको देखिन्छ । मंगलबार हिन्दुहरूको महान पर्व शिवरात्री रहेकाले सबै मतदाताहरू शिवरात्री मनाउनमै व्यस्त छन् ।

जिल्लामा पार्टी सभापति शेरबहादुर देउवासँगै कार्यसमितिका केन्द्रीय सदस्यहरूले नारायणदत्त भट्टलाई समर्थन गर्दै जिल्लामा सभापति बनाउन अघि बढेका छन् । पहिलो चरणमा कम मत प्राप्त गरेका भट्टलाई जिताउनका लागि जिल्लाका मतदातामा केन्द्रको दबाब बढिरहेको छ । भट्टलाई जसरी पनि जिताउने तर्खरसहित अहिले विभिन्न वडामा छलफल तथा दबाब कार्यकर्ताहरूले झेल्नुपरेको छ ।

सोहीअनुसार बुधबार दोस्रो चरणको निर्वाचन गराउने तयारीमा रहेको निर्वाचन समितिले पुनः बिहीबारका लागि मतदान गराउने निर्णय गरेको छ । बिहीबार मतदान रंगशालामा हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?