महादेवको कृपा पाएकी जिनिलिया

हामी आफैलाई एउटा घमन्ड रहेको हुन्छ कि हामी नै सर्वोपरि हौँ, हामी नै शक्तिशाली हौँ भनेर । तर हामीलाई एउटा कुरा थाहा हुँदैन कि, हामी भन्दा पनि अरू शक्तिशाली पनि छन् भनेर । ती शक्ति भनेको भगवान् महादेव नै हुन् जो विभिन्न रूपमा हाम्रो सामुन्ने आइरहेका हुन्छन् तर हामी यो कुरा थाहा नै पाइरहेका हुँदैनौ ।
काठमाडौंमा जन्मिएर यही शिक्षा लिदैं हुर्किएकी जिनिलिया श्रेष्ठले क्लिनिकल साइकोलोजीमा मास्टर्स गरिन् । उनले पाएको शिक्षालाई सदुपयोग गर्दै उनले ‘आजना हिलिङ साईको थेरापी सेन्टर’ सञ्चालनमा ल्याइन् ।
अहिले यो सेन्टरको काठमाडौँ, पोखरा र धनगढीमा ब्रान्च रहेको छ । यी ब्रान्चहरूले गर्ने योग, ध्यान, मेडिटेसन, काउन्सिलिङका वर्कसपमा जिनिलिया प्रशिक्षकको रूपमा आफैँ पुग्ने गर्छिन् ।
घर परिवारका सदस्यहरू शिव भक्त भएकै कारण सानै देखी उनमा पनि शिव प्रति आस्था बढ्दै गयो । कहिले सपनामा शिवको दर्शन पाउँथिन् भने कहिले बिपनामै शिवले उनलाई मार्ग दर्शन दिइरहेको भान हुन्थ्यो ।
उनलाई पनि आफ्नो जीवनमा आएको परिवर्तनमा शिवकै भूमिका रहेको महसुस अहिले भइरहेको छ । जिनिलिया भन्छिन्– मेरो जीवनले यु टर्न लिएकै शिव भगवानको साथले हो । योग, ध्यान, मेडिटेसन गरेपछि भगवान् शिव मेरो अझ नजिक भएको महसुस गर्छु । त्यसैले मेरो जीवन शिवजीकै जस्तै परिवर्तनकारी नै भएको हो ।
गीत गाउनमा औधी रहर गर्ने जिनिलियाले आफ्ना रहरहरू अरूको गीतका कभर भर्जनगर्दै युट्युबमा अपलोड गर्थिन् । यसबाट उनले धेरै राम्रा प्रतिक्रिया पाउन थालिन् । घर परिवार र साथीभाइहरूले हौसाएपछि उनी सङ्गीत सिक्न भीम कला केन्द्रमा गइन् । सङ्गीत सिक्न गएकी जिनिलियाको हाउभाउ त्यहाँ आउने सङ्गीतकार, निर्देशकलाई औधी मन पर्न थाल्यो र उनीहरूले नै भने ‘तिमीले गाएको भन्दा अभिनय गरेको अझ राम्रो छ । मोडलिङमै लाग’, यही हौसला र साथले गर्दा एउटा म्युजिक भिडियोमा उनले अभिनय गर्न पाइन् । यसले निरन्तरता पाउदैं अहिले दर्जनौँ म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छिन् ।
मोडलिङ र अध्यात्मको क्षेत्र बिलकुल फरक भएको कारण उनलाई अहिले उनका साथीहरू पनि उनको काम देखेर छक्क पर्छन् । यही जिज्ञासा जनिलियालाई राख्दा उनी भन्छिन्– हामी भन्दा अर्को ठुलो शक्ति पनि छ, त्यो भगवान् महादेव नै हो । उहाँकै कृपाले यो भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?