विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताए । 

मुख्यमन्त्री पोखरेलले विपद्मा उद्धार, राहत र पुनःस्थापनाको काम देखाउनका लागिभन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्ने जानकारी दिए । 

मुख्यमन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्धारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गरे। 
। 
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले ६ करोडको कोषको व्यवस्था गरेको जानकारी दिए । 

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा गरे। 

एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?