सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारी रुपमा लागिपरेको बताइन् । 

मन्त्रालयलाई आगामी वर्ष करीब ३४ अर्ब बजेट उपलब्ध भएको जानकारी दिँदै मन्त्री मगरले तराई मधेश तथा पहाडी क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउँन नीति, योजना तथा कार्यक्रम लागू गरिने र आगामी तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्। 

निर्माणमा रहेका सबै आयोजनालाई समयमै कार्यान्वयन गर्न स्थानीय, प्रदेश सरकार र संघीय सरकारले एकीकृतरुपमा प्रयास गर्ने उहाँले स्पष्ट पारिन्। 

मेलम्ची खानेपानी आयोजनालाई तोकिएको समयमा पूरा गर्न मन्त्रालयले कार्ययोजना तयार पारेको, निर्माण व्यवसायीका कारण भइरहेको ढिलाइलगायतका समस्या समाधान गर्न तीव्रता दिइएको समेत जानकारी दिइन् । 

एक घर एक धारा, एक घर शौचालय कार्यक्रम लागू गरिएको र राजधानीका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण प्रक्रिया अगाडि बढाइरहेको बताइन् । 

चुरे क्षेत्रमा रहेको खानेपानीको समस्या, तराई क्षेत्रमा सुक्दै गएको भूमिगत पानीको स्रोतमा आएको कमीलाई समाधान गर्न स्रोत संरक्षण एवं वर्षात्को पानी संकलन गर्ने कार्यक्रम शुरु गरिएको मन्त्री मगरले बताइन्। 

मन्त्री थापाले जनताको सहभागितामा नै खानेपानी भन्ने नीतिका साथ सरकारले खानेपानीको दिगो स्रोत व्यवस्थापनमा ध्यान दिएको, शहरी तथा राजमार्ग क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको उल्लेख गरिन् । 

उनले तराई मधेशका जनतालाई आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन सरकारले योजनाबद्धरुपमा कार्यक्रम लागू गरिएको जानकारी दिइन्। 

आगामी वर्ष योजना बनाएर खानेपानी परियोजना अगाडि बढाइएका कारण सबै जिल्ला र स्थानीय तहमा स्वच्छ खानेपानी उपलब्ध गराइने उनको भनाइ छ । 

सांसदहरु प्रेम सुवाल, मीना पाण्डे, पार्वती डिसी चौधरी, अनिल झा, चन्द्रकान्त चौधरीले मन्त्री मगरको भनाइमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?