जीटूजीमार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी

लोकपथ
301
Shares

काठमाडौं । जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मल आपूर्तिका लागि भारत सरकार र नेपाल सरकारबीच समझदारी भएको छ ।

जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको हाे।

उक्त समझदारी पत्रमा भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो क्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितमा मिति २०७८ फाल्गुण १६ गते आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदानप्रदान भएको हो ।

सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे। साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?