कांग्रेस प्रवक्ता डा. महतको दाबी : ‘एमसीसी पास गराउन एमालेको पनि सहयोग छ’

लोकपथ
455
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औपचारिक रुपमा सहभागिता नजनाएपनि अनौपचारिक रुपमा सहयोग गरेको बताए । उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिए । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रसंशा गरेको प्रवक्ता महतको भनाई थियो । उनले भने, ‘एमसीसी सही ढंगले संसदले पारित गर्‍यो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो । हामीले यसरी बुझेको छौं । समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई जुन पारित गरेको छ । यसले यसमा रहेको भ्रम र अन्यौलको माहौललाई समाप्त गरेको छ । र, यो क्रममा हाम्रो पार्टी सभापति, देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीका साथ यो परियोजनालाई संसदबाट पारित गर्ने आधार तयार भयो । त्यसको लागि हामी पार्टीकोतर्फबाट उहाँलाई पनि धन्यवाद दिन चाहन्छौं । र, समग्र नेपाली जनताले पनि नेपाली काँग्रेसको सुझबुझपूर्ण निर्णय र नेतृत्वको प्रशंशा गरिराखेका छन । नेपाली काँग्रेस पार्टीले निरन्तर यथार्थ कुरो, सत्य कुरो सत्ता बाहिर भएपनि, सत्ता भित्र भएपनि दिनरात हामीले राखिराख्यौं । त्यसलाई पनि नेपाली जनताले प्रशंशा गरेका छन । र, नेपाली काँग्रेस पार्टी नै एउटा यस्तो पार्टी हो, जसले परिपक्व निर्णय गर्छ । र, निर्णय गरिसकेपछि त्यसमा उभिन्छ भन्ने सन्देश पनि गएको छ । यो क्रममा गठबन्धनमा रहेका सबै दलहरुको सहयोग रह्यो । यसका प्रतिपनि नेपाली काँग्रेस उहाँहरुलाई धन्यवाद दिन चाहन्छ । र, सँगसँगै विपक्ष दलको प्राविधिक रुपमा उहाँहरुको यो प्रक्रियामा सहभागिता नभएपनि उहाँहरुको पनि यसका प्रति जुन सकारात्मक दृष्टिकोण थियो । यसका प्रति पनि उहाँहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।’

प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गरे । उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे । एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गरे । प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहार्‍याए । उनले भने, ‘बाँकी अझै केही भ्रम र अफबाह छन भने त्यसलाई पनि नेपाली काँग्रेस पार्टीले निरन्तर मेटन निरन्तर लागि रहन्छ । र अझै पनि यस विषयलाई लिएर जो नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ । उहाँहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो । विकास परियोजना हो । यसको अरु कुनै मक्सद छैन । यो कुरालाई हामीले व्याख्यात्मक घोषणा पनि उल्लेख गरेका छौं । एमसीसीको मूल डकुमेन्टमा पनि यो कुरा स्पष्ट उल्लेख छ । शुद्ध विकास सहयोग हो । हामीलाई चाहिएको विद्युत प्रशारण लाईन र सडक परियोजना मूलतः यो खर्च हुँदैछ । र, अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ ।’

प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाईन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताए । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?