आक्रामक रणनीतिले अधिकांश सूचकांकमा एनआईसी एसिया बैंक ‘नम्बर वान’

लोकपथ
403
Shares

पछिल्लो समय खासगरी उत्कृष्ट बैंक कहलिएका एनआईसी एसिया बैंक, नबिल बैंक र ग्लोबल आईएमई बैंकका विषयमा निकै चर्चा परिचर्चा सुरु हुन थालेको छ ।

खासगरी यी तीनै बैंकले दिने सुविधा, सम्बन्धित बैंकले लगानीकर्तालाई दिने प्रतिफल, समग्र बैंकको वित्तीय अवस्थालगायतका विषयमा निकै चर्चा हुने गरेको छ ।

एनआईसी एसिया, नबिल र ग्लोबल आईएमई बैंकबाहेकमा अन्य बैंकको पनि चर्चा हुँदैन भन्न खोजेको होइन् । तर यी तीन बैंकबीच तीव्र प्रतिस्पर्धा भएका कारणले पनि निकै चर्चा पाएका हुन् ।

एनआईसी एसिया बैंकलाई समग्र बैंकिङ क्षेत्रलाई नै चुनौती दिने बैंक, ग्लोबल आईएमई बैंक अहिलेसम्म धेरै चुक्ता पुँजी भएको बैंक र नबिल बैंकलाई सेलिब्रेटी बैंकको रूपमा चिनिने भएकाले पनि चर्चाको शिखरमा पुगेका हुन् ।

चर्चामा रहेका तीनवटै बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणमा तीनवटै बैंकबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।

पछिल्लो ५ वर्षयता एनआईसी एसिया बैंकले आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । गहन रणनीतिका कारण बैंक व्यवसाय वृद्धि गर्दै धेरै सूचकांकहरूमा पहिलो नम्बरमा पर्न सफल हुँदै आएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म एनआईसी एसिया बैंक अधिकांश सूचकहरूमा पहिलो नम्बरमा परेको छ । बैंकले सबै ‘साम–दाम–दण्ड–भेद’ अपनाएर व्यवयास विस्तार गरेकैले बैंक नम्बर वानमा पुग्न सफल भयो ।

परम्परागत शैलीमा अघि बढिरहेका अन्य बैंकको तुलनामा एनआईसी एसियाले रोजेको आक्रामक शैलीले नेपालको बैंकिङ क्षेत्रमा नै ठूलो तरंग ल्याउने काम ग¥यो ।

एनआईसी एसिया बैंकलाई अहिले सबैभन्दा बढी शाखाबाट सबैभन्दा बढी ग्राहकलाई सेवा दिने देशकै अग्रणी बैंक, सबैभन्दा बढी निक्षेप भएको बैंक, सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक, सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक, सबैभन्दा कम एनपीए भएको बैंक, सबैभन्दा बढी रिटेल कर्जा प्रवाह गर्ने बैंक, सबैभन्दा बढी आरओई तथा इपीएस भएको बैंक, सबैभन्दा बढी नाफा कमाउने बैंक, सबैभन्दा कम चुक्ता पुँजी भएको बैंक र सबैभन्दा चर्चामा रहेको बैंक भनेर आम नागरिकले चिन्ने गरेका छन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा हेर्दा अधिकांश सूचकांकमा एनआईसी एसिया बैंक ‘नम्बर वान’ बैंक बन्न सफल भएको छ । कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा अन्य बैंकभन्दा एनआईसी एसिया बैंक अग्रणी देखिएको छ ।

निक्षेप

निक्षेप संकलनमा तीन बैंकमध्ये एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २ खर्ब ९४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यता ग्लोबल आईएमई बैंकले सोही अवधिसम्म २ खर्ब ७१ अर्ब ९० करोड रुपैयाँ र नबिल बैंकको २ खर्ब ३२ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको छ ।

कर्जा विस्तार

कर्जा विस्तारको अवस्था हेर्दा पनि एनआईसी एसिया बैंक अन्य बैंकभन्दा अगाडि देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुल कर्जा २ खर्ब ६१ अर्ब लगानी गर्न सफल भएको छ ।

कर्जा प्रवाहमा एनआईसी एसिया बैंकले ग्लोबल आईएमई बैंकलाई पनि उछिनेको छ । ग्लोबल आईएमई बैंकले २ खर्ब ५६ अर्ब रुपैयाँ र नबिल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सञ्चालन नाफा

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया बैंक आफ्नो सञ्चालन नाफामा पहिलो नम्बरमा पुगेको थियो । तर, दोस्रो त्रैमासमा आउँदा एनआईसी एसिया बैंकलाई ग्लोबल आईएमई बैंकले उछिनेको छ । ग्लोबल आईएमई बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

यस्तै एनआईसी एसिया बैंकले सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्थापछिको) ३ अर्ब ४२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । नबिल बैंकको ३ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

खुद नाफा

लामो समयदेखि नम्बर वान बैंकका रूपमा परिचित एनआईसी एसिया बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा भने खुद नाफा कमाउनेमा दोस्रो नम्बरमा देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनआईसी एसिया बैंक पहिलो नम्बर थियो ।

तर दोस्रो त्रैमाससम्म आउँदा ग्लोबल आईएमई बैंकले एनआईसी एसियालाई नाफामा जितेको वित्तीय विवरणमा देखिन्छ । ग्लोबल आईएमई बैंकले निष्कृय कर्जा असुल गरेर पहिलो नम्बरमा पुगेको हो । तर ग्लोबल आईएमईले निष्कृय कर्जाका लागि केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार लोन लस प्रभिजन १.३ प्रतिशत भने राखेको पाइदैन ।

ग्लोबल आईएमई बैंकले दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । एनआईसी एसिया बैंक २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्ममा एनआईसी एसियाभन्दा ग्लोबल आईएमई बैंक करिब २६ करोड बढी नाफा कमाएको मात्र छ । नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी

ईपीएस अर्थात् प्रतिसेयर आम्दानीमा पनि एनआईसी एसिया बैंक शीर्ष स्थानमा देखिएको छ । अन्य वाणिज्य बैंकको तुलनामा ईपीएसमा पनि यो बैंक शीर्षस्थानमा छ । वित्तीय विवरणअनुसार बैंकको ईपीएस ४१.४३ रुपैयाँ छ ।

दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको ३२.१५ रुपैयाँ छ । सिद्धार्थ बैंकको २५.१२ रुपैयाँ छ । नबिल बैंकको प्रतिसेयर आम्दानी २३.५९ रुपैयाँ र ग्लोबल आईएमई बैंकको २२.३९ रुपैयाँ छ ।

लगानीकर्ताले आफूले लगानी गरेपछि सदैव त्यो कम्पनीले दिने प्रतिफलमा ध्यान दिने गर्दछन् । लगानीकर्ताले लगानी गरेपछि आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी कति रहेको छ भन्नेमा चासो राख्ने गर्दछन् । प्रतिसेयर आम्दानीले सेयरको मूल्यको मूल्यांकन गर्न सहयोग गर्दछ ।

प्रतिसेयर आम्दानी धेरै भएको कम्पनीलाई लगानीकर्ताले राम्रो कम्पनीको रूपमा लिने गरेका छन् । यस्तै थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीलाई कमजोर कम्पनी भनेर भन्ने गरिन्छ ।

जुन कम्पनीले धेरै प्रतिफल दिन्छ त्यसमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । लगानीकर्ताले जहिले पनि कम्पनीको नाफाभन्दा पनि प्रतिसेयर आम्दानी हेरेर लगानी गर्ने गर्दछन् ।

प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थमा एनआईसी एसिया बैंक एक नम्बरमा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा छ । यस्तै नबिल बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ । साथै ग्लोबल आईएमई बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

स्व–पुँजीमा प्रतिफल

स्व–पुँजीमा प्रतिफल (आरओई)का हिसाबले पनि एनआईसी एसिया बैंक अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा अगाडि छ । यो बैंकको बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.७७ प्रतिशत छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

यस्तै ग्लोबल आईएमई बैंकको १५.८५, माछापुच्छ«े बैंकको १५.१७, सिद्धार्थ बैंकको १५.०८, नबिल बैंकको १२.८४ प्रतिशत रहेको छ । आरओई आफूले गरेको लगानीमाथिको प्रतिफल पनि लगानीकर्ताको लागि अर्को चासोको विषय हो । आरओई कति छ भन्नेतर्फ पनि लगानीकर्ताले निकै चासो दिनेगरेका हुन्छन् ।

सेयरधनीले बैंक तथा वित्तीय संस्थामा गरेको कुल लगानीको प्रतिफललाई आरओई भन्ने गरिन्छ । सेयरधनीको लगानीमा पुँजीसँगै जगेडा कोष र चुक्ता पुँजी समावेश गरिएको हुन्छ । बैंकहरूको जति नाफा कमाएका छन् त्यसको लागि आफूले कति लगानी गरेर कति नाफा कमाए भनेर थाहा पाउने सूचक आरओई हो ।

शाखा सञ्जाल

एनआईसी एसिया बैंक शाखा सञ्जालमा सबैभन्दा अगाडि देखिएको छ । एनआईसी एसियाको शाखा संख्या ३५८ पुगेका छन् । केही वर्षअघि जनता बैंकलाई गाभेको ग्लोबल आईएमई बैंकका शाखा पनि एनआईसी एसिया बैंकका जति पुगेका छैनन् ।

एक्स्टेन्सन काउन्टर

एनआईसी एसिया बैंकका एक्स्टेन्सन काउन्टर मुलुकभर ७६ पुगेको छ । एक्स्टेन्सन काउन्टरमा बढी भएको बैंकमा एनआईसी एसिया बैंक नम्बर वानमा नै पर्छ ।

एटीएम

एटीएम सबैभन्दा बढी भएको बैंक पनि एनआईसी एसिया बैंक नै भएको छ । एनआईसी एसिया बैंकका एटीएमको संख्या ४७३ पुगेको छ ।

ग्राहक संख्या

निजी क्षेत्रका बैंकमध्ये एनआईसी एसिया बैंकका सबैभन्दा धेरै ग्राहक संख्या देखिएका छन् । यस बैंकका ग्राहक ३० लाखभन्दा बढी पुगेका छन् ।

न्यून खराब कर्जा

एनआईसी एसिया बैंकको खराब कर्जा न्यून छ । निष्क्रिय कर्जालाई चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न एनआईसी एसिया बैंक सफल भएको छ । नबिल र ग्लोबल आईएमई बैंकको खराब कर्जा एनआईसी एसियाको भन्दा धेरै छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा १.१३ प्रतिशत छ । त्यस्तै नबिल बैंकको १.११ प्रतिशत रहेको छ ।

वासलातको आकार

एनआईसी एसिया बैंकको वासलातको आकार ३ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । जुन २७ बैंकहरूमध्ये दोस्रो ठूलोमा एनआईसी एसिया बैंक पर्छ ।

जगेडा कोष

कुनै पनि बैंक कति बलियो अवस्थमा छ भनेर हेर्न विभिन्न सूचकांकमध्ये जगेडा कोष पनि हो । आव २०७८÷७९ को दोस्रो त्रयमाससम्ममा एनआईसी एसिया बैंकको जगेडा कोषमा ११ अर्ब ५५ करोड रुपैयाँ छ । जबकी बैंकको चुक्ता पुँजी नै ११ अर्ब ५६ करोड छ ।

नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ । नबिल बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रुपैयाँ छ । २३ अर्ब ७९ करोड चुक्त्ता पुँजी भएको ग्लोबल आईएमई बैंकको जगेडा कोषमा १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

समग्र बैंकको तुलनामा एनआईसी एसिया बैंकको हिस्सा अत्यधिक

समग्र बैंकको तुलनामा एनआईसी एसिया बैंकको हिस्सा अत्यधिक छ । कुल कर्जा, कुल निक्षेप, प्रतिसेयर आम्दानी, स्वःपुँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर, एटीएम, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल प्रयोगकर्तालगायतका परिसूचकमा एनआईसी एसिया बैंक अगाडि देखिएको छ ।

समग्र बैंकिङ क्षेत्रगत औसत कुल कर्जा १४३.३५ अर्ब रहेकोमा एनआईसी एसिया बैंकको २७३.४६ अर्ब रुपैयाँ छ । यो समग्र बैंकिङ क्षेत्रगत औसत कुल कर्जामध्ये १३०.११ अर्ब रुपैयाँ बढी हो ।

यसैगरी, समग्र बैंकिङ क्षेत्रगत औसत कुल निक्षेप १४९.०८ अर्ब रहेकोमा एनआईसी एसिया बैंकको २९९.३४ अर्ब छ । यो समग्र बैंकिङ क्षेत्रगत औसत कुल निक्षेपमध्ये १५०.२६ अर्ब रुपैयाँ बढी हो ।

साथै, समग्र बैंकिङ क्षेत्रगत औसत प्रतिसेयर आम्दानी १८.४४ रुपैयाँ रहेकोमा एनआईसी एसिया बैंकको ४१.४३ रुपैयाँ छ । यो समग्र बैंकिङ क्षेत्रगत औसत प्रतिसेयर आम्दानीमध्ये २२.९९ रुपैयाँले बढी हो ।

यसैगरी, समग्र बैंकिङ क्षेत्रगत औसत स्वः पुँजीमा प्रतिफल ११.३९ प्रतिशत रहेकोमा एनआईसी एसिया बैंकको २१.७७ प्रतिशत छ । यो समग्र बैंकिङ क्षेत्रगत औसत स्वःपुँजीको प्रतिफलमध्ये १०.३८ प्रतिशतले बढी हो ।

समग्र बैंकिङ क्षेत्रगत औसत ग्राहकको संख्या १२ लाख ४८ हजार रहेकोमा एनआईसी एसिया बैंकका ३० लाख छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत ग्राहकको तुलनामा १७ लाख ५२ हजारले बढी हो ।

साथै, समग्र बैंकिङ क्षेत्रगत औसत शाखा संख्या १६६ रहेकोमा एनआईसी एसिया बैंकको ३५८ छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत शाखा संख्याको तुलनामा १९२ ले बढी हो ।

समग्र बैंकिङ क्षेत्रगत औसत विस्तारित काउन्टर ४ रहेकोमा एनआईसी एसिया बैंकका ७६ छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत विस्तारित काउन्टरको तुलनामा ६६ ले बढी हो । समग्र बैंकिङ क्षेत्रगत औसत एटीएम संख्या १३२ रहेकोमा एनआईसी एसिया बैंकको ४७३ छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत एटीएम संख्याको तुलनामा ३४१ ले बढी हो ।

समग्र बैंकिङ क्षेत्रगत औसत डेबिट कार्ड प्रयोगकर्ता ३ लाख रहेकोमा एनआईसी एसिया बैंकका १२ लाख ३५ हजार छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत डेबिट कार्ड प्रयोगकर्ताको तुलनामा ९ लाख ३५ हजारले बढी हुन् ।

मोबाइल प्रयोगकर्ता पनि एनआईसी एसिया बैंकका बढी छन् । समग्र बैंकिङ क्षेत्रगत औसत मोबाइल प्रयोगकर्ता ४ लाख ६१ हजार रहेकोमा एनआईसी एसिया बैंकका मात्रै १६ लाख ८० हजार छन् । यो समग्र बैंकिङ क्षेत्रगत औसत मोबाइल प्रयोगकर्ताको तुलनामा १२ लाख १९ हजारले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?