कांग्रेस कैलालीको निर्वाचन : आज मतगणना हुँदै

धनगढी । नेपाली कांग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने छ । नयाँ नेतृत्वका लागि आइतबार चुनाव भएको थियो ।

निर्वाचनमा २ हजार ४८५ मत खसेको थियो । कांग्रेस कैलालीको निर्वाचनका लागि २ हजार ५७५ प्रतितिधि चयन भएका थिए ।

सभापतिका लागि देउवा समूहकै नारायणदत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् । कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् ।

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवार छन् ।

बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ ।

कोइराला पक्षका कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ ।

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?