काठमाडौं । चञ्चले ट्याम्पु चालक युवतीको कथामा फिल्म ‘बुलबुल’ निर्माण हुने भएको छ । एकै खालको फिल्म आइरहेका बेला फरक विषयवस्तुलाई उठाएर फिल्म निर्माण हुन लागेको हो ।
चलचित्रमा ट्याम्पु चालकको भूमिकामा स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । फिल्मलाई विनोद पौडेलले निर्देशन गर्नेछन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो । एक टेम्पो चालकको भित्री र बाहिरी कथालाई उठान गरिने यो कथामा समाजको एक वर्गलाई उतार्न प्रयास गरिएको निर्देशक पौडेलले जनाए ।
साथै उनले फिल्मलाई सकभर इमान्दार भएर बनाउने र नयाँ कलाकारको जन्माउने समेत बताए ।

मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले भूमिकाका लागि प्रशिक्षण लिइरहेको बताइएको छ । स्वस्तिमाले यो फिल्म आफ्ना लागि विशेष भएको पनि बताइन् ।
कार्यक्रममा बोल्दै उनले यो फिल्म स्टारको नभएर कलाकारको भएको बताइन् ।
साउनको पहिलो हप्ताबाट फ्लोरमा जान लागेको फिल्ममा जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, मुकुन भुसाल, आशिका पाण्डे लगायतका कलाकारको अभिनय पनि रहनेछ ।
फिल्मको कथा तथा पटकथा निर्देशक पौडेलकै हो । यसअघि उनले ‘साँघुरो’ को पटकथा लेखेका थिए भने उनी अस्कर कलेजका प्रिन्सिपल पनि हुन् ।
फिल्मलाई अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया