पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिन : पर्यटन मन्त्री

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । 

सोमबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री अधिकारीले विज्ञ समूहरुबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पारेका हुन् । 

एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब छुट्याइएको जानकारी दिए । 

मन्त्रालयमा आफूले नेतृत्व सम्भालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनर्निर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी दिँदै उनले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताए । 

सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको छ भन्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको चर्चा गरे । 

सम्पदा पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भइरहेको बताउँदै उनले कृष्ण मन्दिरको पुनर्निर्माण भइरहेको र धरहराको पुनर्निर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए । 

प्रेस चौतारी नेपालका अध्यक्ष माधव बराललगायतका पत्रकारले समसामयिक विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?