काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भिरताका साथ लागि परेको बताएका छन् ।
अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरुको खोजी गम्भितारपूर्वक गरिरहेको बताएका हुन् ।
सहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताए ।
एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखिनै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गरे । अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षडयन्त्र भईरहेको उल्लेख गर्दै फेरी एउटा जनयुद्ध लडनुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘फेरी एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरु खोज्ने षडयन्त्र भईराखेको छ भनेर नै अपिल गर्यौ र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरी हामीलाई प्राप्त भयो । र, अहिले हामी एउटा एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरी एकचोटी साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समूदायका जनताको हक, अधिकारीर्ला अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं । तर गर्दागर्दै पनि अहिले फेरी एमसीसी भन्ने एउटा परियोजनाले कतैं यो लामो संघर्ष र धेरै ठूलो मेहनतपछि जनताको विभिन्न तह, तप्का, सबै क्षेत्रका बुद्धिजीविहरु मानव अधिकारदेखि नागरिक आन्दोलनका अगुवाहरुसम्म राजनीतिक दलहरुको र मुख्यतः माओवादी केन्द्रको अगुवाईमा भएको देशव्यापी अभियानबाट जे प्राप्त भएको थियो । कहीँ एमसीसीकै कारणले यो गुम्ने त होईन भन्ने जस्तो स्थिति आजको दिनमा देखा परेको छ । जसलाई हामीले प्रतिगमनकारी भन्यौं, जुन कदमलाई हामीले प्रतिगमनकारी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई उल्ट्याउने षडयन्त्रको रुपमा जसको हामीले भण्डाफोर गर्यौ । र, जसको विरुद्धको संघर्षबाट एउटा नयाँ गठबन्धनको जन्म भयो । हामीले गठबन्धन बनाउँदा भनेका थियौं–यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । जनताको बीचमा भनेको पनि, राजनीतिक दलहरुको बीचमा भएको सहमती पनि त्यही थियो । त्यहाँ कहिँकतै एमसीसी भन्ने कुरा त थिएन । त्यसैगरी हामीले गठबन्धन सरकार बनिसकेपछि साझा न्यूनतम कार्यक्रममा पनि हामीले कहिँकतै एमसीसीको बारेमा चर्चा गरेका थिएनौं । त्यो एउटा यस्तो परियोजना, त्यो बारेमा विवाद, बहस छ । यथास्थितिमा विना संशोधन, विना परिमार्जन, समर्थन गर्न सकिदैन भन्ने धारणा हामीले प्रष्टसँग राख्दै आएको थियौं । तर आजको दिनमा यो यस्तो खालको विषय बन्न गएको छ कि कहीँ यसैको कारणले गठबन्धननै टुट्ने, फेरी प्रतिगमनकारी शक्ति हावी हुने त होइन रु भन्ने स्थिति बनेको छ । र, यसलाई रोक्नुपर्ने कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरी अगाडि नआओस् र संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस भनेर अहिले हामी लागि राखेका छौं । हामीले कहिँन कहीँ यो गठबन्धन बचाऔं । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस भन्ने कुनै त्यस्तो उपाय छ त रु भनेर छलफल भईराख्या छ । त्यसकारण मैले अहिले धेरै यहाँ ब्याख्या विश्लेषण गर्ने भन्दा पनि हामीले ठूलो आन्दोलनबाट प्राप्त गरेको यो पछिल्लो संविधानको रक्षा, गणतन्त्रको रक्षा र संघीयताको रक्षा अथवा हाम्रा अधिकारहरुको रक्षाको बारेमा कहिँकतै दूर्घटना हुन नपाओस् भन्नको निम्ति असाध्यै गम्भिरताका साथ हामी लागिराख्या छौं ।’
अध्यक्ष दाहालले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहीन युद्ध जारी राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया