ए डिभिजन लिगको आज अन्तिम दिन, आर्मी र मनाङ मर्स्याङदी भिड्दै

लोकपथ
598
Shares

काठमाडौं । सहिद स्मारक ‘ए‘ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगको अन्तिम दिन शनिबार तीन खेलहरु हुँदैछन् । दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सात पटकको च्याम्पियन मनाङले आर्मीको सामना गर्दैछ । सोही समयमा सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने अर्को खेलमा न्युरोड टिम ९एनआरटी० नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ ।

दिनको तेस्रो खेलमा ४ः४५ बजे एपिएफ फुटबल क्लबले लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबलाई चुनौती प्रस्तुत गर्दैछ ।

लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै उपाधि रक्षा गरेको थियो ।

लिगका पुछारमा रहेका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) यसपाली शीर्ष डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा हुने टोली बने ।

तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ । लिगमा मछिन्द्र हालसम्म अपराजित छ । दोस्रो स्थानमा रहेको आर्मीलले २२, चौथो स्थानको एनआरटीले २०, पाँचौं स्थानको मनाङले २०, आठौं स्थानमा रहेको एपिएफले १५ र ११औं स्थानको पुलिसले १२ अंक जोडेका छन् ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगका खेलहरु दशरथबाहेक एन्फा मुख्यालय र पोखरा रंगशाला गरी तीन मैदानमा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?