दुई क्वीन्टल चरेश लोड गरिएको ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं । लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै गरेको अवस्थामा प्रहरीले राजधानीबाट ठूलो मात्रामा चरेश र अफिम बरामद गरेको छ । 

गृह मन्त्रालयले यही जुन–२६ (असार–१२ गते) लाई लक्षित गरी ६ गतेबाट नै विशेष अभियान सञ्चालन गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरोले भारतीय नम्वर प्लेटको ट्रकबाट चरेश र अफिम बरामद गरेको हो । 

ट्रकमा फल्सबटम बनाइ २ सय १३ किलो चरेश र दुई किलो २ सय ५० ग्राम अफिम तस्करी भइरहेको अवस्थामा उक्त ट्रकलाई ब्यूरो प्रहरीले नियन्त्रणमा लिएको हो । 

ब्यूरोका प्रमुख डिआईजी ठूले राईले विशेष सूचनाका आधारमा कलंकीबाट डब्लूबी २३ बी ५८८५ नम्बरको ट्रक र ट्रकका चालक मेराज अलामलाई पक्राउ गरेको जानकारी दिए । 

भारतको मोतिहारी पूर्वी चम्पारण बिहारका २५ वर्षीय चालक आलम भरिया भएको बुझिएको छ । ट्रकमा फल्सबटम बनाएर तस्करीमा प्रयोग गरिएकोे अवस्थामा चालक आलम पक्राउ परेका हुन् । 
नेपालमा उत्पादित उक्त चरेश र अफिम भारतको दिल्लीसम्म लैजाने तयारी भइरहेको जानकारी प्रहरीले दिएको छ । 

डिआइजी राईका अनुसार उक्त लागूऔषध सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसारपसार गर्न लागिएको थियो । 

सो लागूऔषधका सम्वन्धमा आज आयोजित पत्रकार सम्मेलनमा बरामद लागूऔषधका मुख्य नाइके फरार रहेको प्रहरीले जनाएको छ । 

‘मुख्य कारोबारीको मोबाइल नम्बर फेला पारेको उनले भने–अन्य केही प्रमाणहरु पनि भेटिएका छन् । मुख्य ‘नाइके केही दिनमै पक्राउ पर्ने छन् ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?