एमसीसीबारे नेताहरुको मत : माधवकुमार नेपालदेखि प्रदिप ज्ञवालीसम्म

लोकपथ
210
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे । अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताए । उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘अनेकौँ जटिलताहरु देखा परेका छन् । मैले सूचना पाएसम्म बिरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोशिस भइरहेको छ । त्यो पनि शर्त राखेर मात्रै । त्यो पनि कुनै शर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता शर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रश्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ । मुख्य कुरा के हो भने केपी ओलीले एमसीसीलाई समर्थन गर्ने । तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनु भएको छ । हामीले एमसीसी प्रोजेक्टमा कतिपय कुराहरुलाई मिलाउनु पर्नेछ । नेपाल इण्डो प्यासिफक इस्टाटेजीको अंग बन्न चाहँदैन । कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीति अन्तर्गत नेपाललाई पार्न दिने पक्षमा छैनौँ । नेपालको भूमिलाई छिमेकी मुलुकहरुको बिरुद्धमा प्रयोग हुने कुनै पनि आशंका नरहने कुराको प्रत्याभूति चाहन्छौँ । नेपालको असंलग्न परराष्ट्रनीतिमा हामी तटस्थ रहन चाहन्छौँ । नेपालको भूमिमा ट्रान्समिशन लाइन बन्छ भने र बाटो बन्छ भने त्यसमा नेपालको अधिकार नै रहन्छ । रोजगारीमा नेपालीको अधिकार कायम रहनुपर्छ । लेखा परीक्षणको अधिकारमा नेपालको अधिकार रहनुपर्छ । त्यसमा नेपालको संविधानको सर्वोच्चता हुनुपर्छ । यी सबै कुराको स्पष्टता नभएसम्म स्वभाविक रुपमा यथास्थितिमा हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ । मैले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भनेको छु, हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस् ।’

त्यस्तै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिए । उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे ।

सांसद खनालले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकार भित्र विभाजन आयो । संसदमा विभाजन आयो । राजनीतिक पार्टीहरुका बीचमा विभाजन आयो र आम जनताका बीचमा समेत विभाजन आयो । यो ग्म्भीर सवाल हो । यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकतावद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ । अझै सहमतिका के सम्भावना छन् ती सम्भावनाहरु खोज्नुपर्छ । त्यो खोजेर सम्भव छ भने अझै पनि पत्ता लगाऔँ । देश जनतालाई विभाजित गर्ने काम नगरौँ । नेपाली काँग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ । जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताए । उनले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको बताए । उनले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको बताए ।

सांसद ज्ञवालीले भने, ‘छलफलहरु सकारात्मक ढंगले नै अघि बढेको छ । हामीले देशका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा मुलुकको राजनीतिक स्थायित्वका लागि, मुलुकमा बाह्य शक्तिसम्बन्धहरुको सन्तुलनहरुको लागि अर्थतन्त्रमा देखा परेका शंकटहरुको निवारणको लागि र यो सिस्टम जोगाउनका लागि मिनिमम अण्डरस्ट्याण्डिङ हुनुपर्छ भन्दै आएका हौँ । हामीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाहीको सूचना टाँस हुनुपर्छ र यसो नगर्ने सभामुखज्यू हुनुहुन्छ, उहाँले स्टेप डाउन गर्नुपर्छ भन्ने कुरा छ । त्यसो भयो भने संसदमा हामी जान पाउँछौँ, छलफलमा सहभागी हुन पाउँछाँै । अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ यथावत छ । यसमा सामान्यतया उहाँहरु सकारात्मक हुनुहुन्छ । दलीय स्वार्थका लागि अहिले संसद बन्द भएको होइन, हामी एउटा सिस्टमा लागि लडेका छौँ । दलीय व्यवस्था हो भने दलको सर्वोच्चता स्थापित हुने एउटा आधारभुत कुरासँग जोडिन्छ, यदी त्यसो भएन भने सिस्टम चल्दैन । एमसीसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरुले दुई वटा जुन ब्लन्डर गरेका छन्, यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने नबढाउने भन्ने । तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति, यो निम्त्याएको उहाँहरुले हो । समाजलाई जसरी विभाजन गर्नुभयो उहाँहरुले आज सडकमा पक्ष र विपक्षमा जुन ढंगको स्थिति बन्दैछ, कुनै पनि विषयमा यो ढंगले समाजमा विभाजन हानिकारक हुन्छ ।’

त्यस्तै सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने÷नरहने कुरामा आशंका व्यक्त गरे । उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए । सांसद कोईरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए ।

सांसद कोईरालाले भने, ‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने । उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ । यसमा दुई तिहाई चाहिँदैन । त्यसैले यो अवरोध भइरहेको छ । एमसीसी सानो इस्यू होइन, गम्भीर इस्यू हो । गम्भीर विषयमा स्वभाविक वार्ता चलिरहन्छ । गतिरोध स्वभाविक नै हो । एमसीसी नेपालको लागि राम्रो हो । किनभने नौ देशहरुमा एमसीसी लागू भइसकेको छ, त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो । एमसीसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’

त्यस्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताए । उनले प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको र देश दलालहरुको भएको आरोप लगाए ।

सांसद यादवले भने, ‘यसरी बैठक जुन स्थगित भइरहेको छ, अवरोध पनि छ । संसारमै नभएको कुरा नेपालमा भइरहेको छ । देउवाजी जसरी पनि एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ । यो दलाल नै दलालको देश हो । त्यही भएर बिग्रिएको छ ।’

एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलको कार्यसूचि रहेको प्रतिनिधिसभाको आजको बैठक पनि सरकारले आईतबारसम्मका लागि स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?