स्वार्थभित्र गिजोलिएको यथार्थ

यतिबेला नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल पल शाह र एक जना गायिकाका विषयले भरिएका छन् । पल शाह र एक नाबालिग गायिकाबीच भएको प्रेम सम्बन्ध र त्यसपछि निम्तिएको समस्याले नयाँ मोड लिएको छ ।

केही दिनअघि एक महिला अधिकारकर्मीसँग ती गायिकाले पल र उनीबीच भएका सबै कुराहरू बताएको अडियो सार्वजनिक भयो । त्यो कुराले आम सर्वसाधारणदेखि कलाकारिता जगतमा नै एक किसिमको तरङ्ग पैदा भयो ।

त्यसको लगत्तै एक युट्युब च्यानलमा दुवैले सँगै अन्तर्वार्ता दिए । त्यहाँ उनीहरू दुवैले त्यो कुरामा कुनै सत्यता नभएको र आफूहरूको प्रगतिमाथि रिस गर्नेहरूले षड्यन्त्र गरेको दाबी समेत गरे ।

तर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध जाहेरी परेपछि घटनाले अर्कै मोड लियो । नेपाली मिडिया र सामाजिक सञ्जाल तिनै दुईका तस्बिर र समाचारले भरिए । आम सर्वसाधारण र मिडिया पलमाथि खनिए ।

पलको त्यो स्टाटस

बिहीबार बिहानै पल शाहको निकै लामो फेसबुक स्टाटस आयो । आफूलाई नजिकका साथीहरूबाटै षड्यन्त्र भएको भन्दै उनले सबै दर्शक र शुभचिन्तकहरूलाई यथार्थ बुझीदिन आग्रह गरे । सँगै उने आफूलाई फसाउन भएको षड्यन्त्र र जाल बुन्दै गरेको अडियो समेत सार्वजनिक गरे ।

उक्त अडियोमा गायक सरोज ओली, दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाई मिलेर यस घटनालाई आफ्नो वैयक्तिक दुश्मनी साँध्न प्रयोग गरेको देखिन्छ । पललाई फसाउनको लागि उनीहरूले ती गायिकालाई उकासेको उकासेको त्यहाँ प्रस्ट बुझ्न सकिन्छ ।

लामो समयदेखि सहकार्य गर्दै आएका र पलका नजिकका साथी मानिएका ती चारै जना पलका विरुद्धमा खनिएका छन् । गायिका पीडित नै भएको भए पनि त्यो अडियो सुन्दा लाग्छ कि उनीहरू ती गायिकाका लागि भन्दा पनि पललाई जसरी र जे गरेर हुन्छ फसाएरै छाड्ने सुरमा छन् ।

उनीहरूले पालैपालो ती गायिकालाई पलका लागि म्यासेज लेख्न सिकाइरहेका छन् । उनीहरू पलले ती गायिकालाई थप हिंसात्मक व्यवहार गरोस् भन्ने प्रतीक्षामा छन् । फेसबुक म्यासेन्जरमा झुटा म्यासेज लेखेर पललाई आवेशमा ल्याउने अनि त्यही बेला उसले दिएको प्रतिक्रियालाई बाहिर ल्याएर पललाई फसाउने योजनाबद्ध प्लानमा उनीहरू लागेको देखिन्छ ।

यो अडियो सार्वजनिक भएपछि घटनाले अर्कै रुप लियो । मिडिया र सामाजिक सञ्जालमा दुई धार देखियो । कतिले पलको सपोर्टमा आवाज उठाए भने कसैले ती गायिकाको पक्षमा । धेरैले नेपाली कलाकारिता क्षेत्रको नै बेइज्जत भएको बताएका छन् भने कानुनी रुपमा अलिक जटिल विषय भएको भन्दै कतिले मुख नै खोलेका छैनन् ।

स्वार्थको सिकार

सरसर्ती हेर्दा यहाँ सबैतिरबाट उक्त घटना स्वार्थको सिकार भएको देखिन्छ । पछिल्लो एक वर्षलाई मात्र हेर्ने हो भने पनि बीच–बीचमा यस विषयमा धेरै कुरा उठ्दै हराउँदै गरेका छन् । मिलेको बेलामा बाहिर आएका सबै कुरा झुट हुन् भन्ने अनि नमिलेका बेलामा या अरुले उकासेको बेलामा यसअघि बोलेका कुरा झुट हुन् र यथार्थ कुरा छिटै बाहिर ल्याउँछु भन्ने । यसले घटना गिजोलिएर उनीहरूप्रतिको विश्वास नै धर्मराएको छ ।

सहमतिमै भएको भए पनि नाबालिगसँगको यौनजन्य क्रियाकलापलाई बलात्कार भनेर मुलुकी संहिता २०७४ ले परिभाषित गरेको छ । यदि उक्त घटना साँचो ठहरिएको खण्डमा अपराधीले कानुनअनुसार सजाय पाउँछ नै ।

तर यहाँ त उक्त घटनालाई स्वार्थअनुसार प्रयोग गरिएको देखिन्छ । पीडक, नजिकका साथी भनिनेहरू र स्वयम् पीडितले समेत घटनालाई प्रयोग गरेको बुझ्न गाह्रो छैन । अझ जाहेरी दिनुभन्दा केही दिनअघि मात्र एउटा युट्युबमा दिएको अन्तर्वार्ताले त झन् दुवैलाई गिज्याइरहेको भान हुन्छ ।

नाबालिग बलात्कारजस्तो जघन्य अपराधका घटनालाई पनि यहाँ वैयक्तिक स्वार्थ र दुश्मनी साँध्ने थलो बनाइएको छ । यस्ता किसिमका आपराधिक घटनालाई यस किसिमले प्रयोग गर्नुचाहिँ अपराध होइन ? यदि हो भने यस घटनालाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूलाई पनि कानुनको दायरमा ल्याउन जरुरी छ ।

यस्ता खालका घटनालाई कोही कसैले प्रयोग गरेर आफ्नो वैयक्तिक दुश्मनी साँध्ने थलो बनाउँदा पीडितलाई झन् पीडा हुन सक्छ । यसले अरु पनि थुप्रै समस्या सिर्जना गर्न सक्छ । त्यसले न्याय प्रक्रियालाई समेत थप जटिल र झन्झटिलो बनाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?