नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’को सीईओमा सन्तोष कुमार देवकोटा नियुक्त

लोकपथ
203
Shares

काठमाडौं । डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेसन ‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् ।

विक्रम सम्वत् २०५६ मा वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराईको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञको रुपमा सक्रिय छन् । देवकोटाले यही फेब्रुअरी १३, २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका हुन् ।

विक्रम संवत् २०६३ (सन् २००८)मा सर्वप्रथम फेसबुक एपमार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११)मा गुगलको प्लेस्टोरमार्फत एन्ड्रोयड तथा एप्पल प्रयोगकर्ताहरूका लागि एपस्टोरमार्फत सार्वजनिक गरिएको थियो ।

पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेषगरी नयाँ पुस्ताको विदेशमोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म–संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्‍याउने प्रयास गर्दै आएको छ ।

‘हाम्रो समय, हाम्रो गौरव मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरिको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरूसँगको अबको यात्रालाई अझ प्रत्युदपादक, अझ नवीन बनाउनका लागि हामीसँग सीईओको भूमिकामा सन्तोष कुमार देवकोटा आबद्ध हुनुभएको हो । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार स्रोत आबद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामग्रीहरूलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरैको पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो । आउँदा दिनहरूमा हामी नेपाली प्रयोगकर्ताहरूका लागि आवश्यक ती तमाम कोसिसहरू गर्नेछौँ जसले नेपाली पात्रोलाई नेपालीहरूको आधिकारिक तथा विश्वासिलो कम्युनिटी एप बनाइरहन सहयोग गर्नेछ । हामी हाम्रो एप्लिकेसन ‘नेपाली पात्रो’मार्फत देश तथा विदेशमा बस्ने हरेक नेपालीहरूलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौंँ । लाखौँ नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ’, जिनियस सिस्टम्स सह–संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले भने ।

नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि–मिति, पञ्चाङ्ग, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेसन हो । यो क्यालेन्डरबाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमयदर, सुनचाँदीको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर–आना र बिघा–रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरू, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तनलगायतका सुविधाहरूले युक्त छ ।

नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले भने, ‘पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेषगरी नयाँ पुस्ताको विदेशमोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म–संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्‍याउने प्रयास गर्दै आएको छ । अहिले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावहः’ भन्ने मान्यतालाई मनन गर्ने समय आएको छ । नेपाली पात्रो परिवार यही मान्यतालाई स्थापित गर्न सदैव क्रियाशील रहन्छ । नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्‍याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृतजस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र श्री सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?