झलनाथ भन्छन्- ‘एमसीसीविरुद्ध सडक तात्ने मात्र हाेइन बल्छ’

लोकपथ
117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् ।

बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरेका हुन् । उनले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिए ।

सांसद खनालले भने, ‘ एमसीसीले सिंगो देश विभाजित भइरहेको छ । पार्टीहरु विभाजित भइरहेका छन् । संसद पनि विभाजित भइरहेको छ । यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ । नेताहरुले दूरदर्शी भएर सिंगो राष्ट्रलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकतावद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिवद्धता उनीहरुले बिर्सिए भन्ने मलाई लाग्छ । हाम्रो पार्टी एकतावद्ध भएर जान्छ । पार्टीभित्र चिन्तनहरुमा तलमाथि हुनसक्छन् । यो निर्णयमा हामी एकतावद्ध हुन्छौँ । गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन् । देश, जनता, राष्ट्रको हितलाइ कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ । एमसीसीले कुरा कहिल्यै मिल्दैन । एकथरि महाशक्तिको पछि लागेका छन् । अर्कोथरि देशको स्वतन्त्रता, सार्वभौमिकतामा लागेका छन् । सडक आवश्यक्ता बमोजिम तात्छ, तात्छ मात्रै होइन, त्यो बल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?