काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै स्थानीय तहमा दलगत र दलभन्दा बाहिरबाट उम्मेदवारी घोषणा गर्ने र चर्चामा रहनेहरूको नाम बाहिर आउन थालेको छ ।

देशको केन्द्रीय राजधानी काठमाडौंको काठमाडौं महानगरपालिकामा चुनावको सरगर्मी भित्र मात्र होइन बाहिरीरूपमा नै देखिन थालेको छ । पहिलो महानगरपालिका भएका कारण पनि अन्यभन्दा काठमाडौं महानगरको चर्चा बढी हुनेगरेको छ ।

सो क्रममा हाल सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसबाट आगामी निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गर्नका लागि आधा दर्जनभन्दा बढीको नाम आकांक्षीको रूपमा चर्चामा छ ।

यसअघिको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रतिस्पर्धी होस् या वडाको नेतृत्व गरिरहेका वा संघीय सांसद समेत रहेका पूर्वमन्त्रीको नाम समेत यसपालि काठमाडौं महानगरको नेतृत्वका लागि नाम अगाडि आएको छ ।

यसअघि पनि सांसद र मन्त्री भइसकेकाहरूको नाम समेत काठमाडौं महानगरको मेयरको लागि चर्चामा थियो ।

कोको छन् दाबेदार ?

आगामी निर्वाचनका लागि काठमाडौं महानगरमा कांग्रेसको तर्फबाट ८ जनाको नाम चर्चामा छ । भीमसनेदास प्रधान, तीर्थराम डंगोल, हरिप्रभा खड्गी, मुकुन्द रिजाल, निलकाजी शाक्य, राजुराज जोशी, सपना जोशी र प्रगतिमान रञ्जितससहित अन्यको नाम समेत चर्चामा रहेको छ । चर्चामा आएका यी व्यक्तित्वहरूको के छ त राजनीतिक इतिहास ? तल चर्चा गरिएको छ ।

१. भिमसेनदास प्रधान

नेपाली कांग्रेसको राजनीतिमा परिचित नाम हो भिमसेनदास प्रधान । पूर्वमन्त्री समेत भइसकेका वर्तमान सांसद प्रधान आगामी निर्वाचनमा काठमाडौं महानगरमा मेयरको सशक्त दाबेदारको रूपमा हेरिएको छ ।

यसअघिको निर्वाचनमा पार्टीले आवश्यक परामर्श नगरी टिकट दिँदा पार्टीले हारेको बताउँदै आगामी निर्वाचनमा बलियो उम्मेदवारलाई टिकट दिनुपर्नेमा उनको जोड रहेको छ । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई मेयरको रूपमा अघि बढाउन भने पनि पछि राजुराज जोशीलाई टिकट दिएको प्रधानको भनाइ छ ।

काठमाडौंको आन्तरिक राजनीतिमा कम्युनिटीको भोटले प्रभाव पार्ने भन्दै पार्टीले त्यसैअनुसार उम्मेदवार खडा गर्नुपर्नेमा उनको जोड छ । आफू उम्मेदवारको रूपमा अघि आउँदा प्रतिस्पर्धीलाई ठूलो मतान्तरले जित्न सक्ने दाबी गर्दै प्रधानले त्यस विषयमा अहिले नै आफू पूरै खुलेर लाग्ने पक्षमा नलागेको बताए ।

‘म मेयरको रूपमा अघि आउँदा ठूलो मतान्तरसहित जित्न सक्छु, तर अहिले नै म पूर्ण रूपमा तयारी अवस्थामा भने छैन । पार्टीभित्र छलफलपछि मात्रै त्यसको अन्तिम टुंगो लाग्ला’, उनले भने ।

आगामी निर्वाचनमा पार्टीले उपयुक्त उम्मेदवारलाई अगाडि बढाउन नसकेमा पुनः हार्ने बताउँदै आफू या तीर्थमान ढंगोललाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।

नेता प्रधान पार्टी राजनीति र सरकारमा समेत बसेर काम गरेको अनुभव रहेको छ । पूर्वरक्षामन्त्री समेत रहेका नेता प्रधान काठमाडौं क्षेत्र नं ६ बाट पटक–पटक सांसद निर्वाचित भएका छन् । काठमाडौं जिल्लाको कांग्रेस सभापति समेत भएका नेता प्रधान प्राध्यापक संघका पूर्वसभापति समेत हुन् ।

नेता प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । साथै पार्टी सभापति शेरबहादुर देउवासँग समेत राम्रो सम्बन्ध रहेको उनी निकटहरू बताउँछन् । यसअघि बागमती प्रदेशमा प्रदेश सभापतिको पहिलो चरणमा तेस्रो भएका नेता प्रधानले देउवाका उम्मेदवार इन्द्र बाँनियालाई सहयोग गरेका थिए ।

२. तीर्थराम डंगोल

नेपाली कांग्रेसको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा मेयरका आकांक्षीमध्ये अगाडि आएको नाम हो तीर्थमान डंगोल । कांग्रेस काठमाडौं जिल्लाको नेतृत्व समेत गरिसकेका डंगोल पूर्वसांसद एवं पूर्वराज्यमन्त्री समेत हुन् । काठमाडौंको राजनीतिमा पुरानो नामका रूपमा पहिचान बनाएका नेता डंगोल यहाँको नेवारी समुदायसँग नजिकको सम्बन्ध रहेको उनीसँग नजिक रहेकाहरू बताउँछन् ।

गत निर्वाचनमा समेत मेयरका आकांक्षी रहेका नेता डंगोल केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नजिक मानिन्छन् । काठमाडौं कांग्रेसमा नेता प्रकाशमान सिंह भन्दा फरक मत राख्दै आएका नेता डंगोल आगामी निर्वाचनमा मेयरको उम्मेदवारी दिन छलफलमा लागेका छन् । यसअघि मेयरको आकांक्षी रहे पनि पार्टीले राजुराज जोशीलाई टिकट दिएको थियो ।

३. मुकुन्द रिजाल

काठमाडौं महानगरपालिकाअन्तर्गत सबैभन्दा ठूलो वडामध्येको १६ नम्बरका वडाअध्यक्ष हुन् मुकुन्द रिजाल । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को क्षेत्रीय सभापति रहेका नेता रिजाल यस पटक काठमाडौं महानगरको मेयरको उम्मेवारी दिने तयारीमा छन् ।

आफ्नो काममा दत्तचित्त भएर लाग्ने साथै निरन्तर वडाको काममा खटिने भएकाले आगामी निर्वाचनमा आफू काठमाडौं महानगरको नेतृत्व गर्न अघि आएको उनी बताउँछन् । नेता प्रकाशमान सिंहको अत्यन्त नजिकको विश्वासपात्रका रूपमा रहेका नेता रिजाल पार्टीभित्र र पार्टी बाहिरकाहरूसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको छ ।

काठमाडौं क्षेत्र नं ७ को एक पटक नेतृत्व गरी हालै सम्पन्न कांग्रेसको १४आँै महाधिवेशनमा ठूलो मतान्तरका साथ पुनः क्षेत्रीय सभापति निर्वाचित भएका छन् । काठमाडौं महानगरका अन्य वडामा भन्दा विकास निर्माण र अन्य कुराहरूले उनको चर्चा बढी हुनेगरेको छ ।

४. हरिप्रभा खड्गी

हाल काठमाडौं महानगरपालिकामा उपमेयरको नेतृत्व गरिरहेकी कांग्रेस नेतृ हरिप्रभा खड्गी यस पटकको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आफूलाई अगाडि ल्याएकी छिन् । पार्टीको १४औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि समेत रहेकी खड्गी निडर महिला नेतृत्वको रूपमा चिनिन्छिन् ।

काठमाडौंभित्रको आन्तरिक राजनीतिमा नेता प्रकाशमान सिंहको निकट रहेकी उपमेयर खड्गी केन्द्रमा सभापति शेरबहादुर देउवानिकटका नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ ।

यसअघिको निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वीलाई २४ हजारको मतान्तरले पराजित गरेकी खड्गी यस पटक मेयरको उम्मेदवारी दिने तयारीमा रहेकी छिन् । उपमेयर खड्गीलाई पार्टीले दुई पटक संविधानसभाको निर्वाचनमा पार्टीले समानुपातिकतर्फको सांसदको सूचीमा समेत राखेको थियो ।

५. निलकाजी शाक्य

निलकाजी शाक्य नेपाली कांग्रेसका काठमाडौं महानगरको वर्तमान सभापति हुन् । काठमाडौं महानगर वडा नं २५ का वडाअध्यक्ष समेत रहेका शाक्य आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षीका रूपमा रहेका छन् ।

नेता शाक्य राजनीतिसँगै कलाकर्ममा पनि उत्तिकै सक्रिय छन् । काठमाडौंको आन्तरिक राजनीतिमा नेता प्रकाशमान सिंहसँग निकटको सम्बन्ध रहेका नेता शाक्य केन्द्रमा सभापति शेरबहादुर देउवा र निकटका नेताहरूसँग पनि त्यत्तिकै हिमचिम रहेको उनी निकटले बताउने गर्दछन् ।

हाल महानगर कांग्रेसको नेतृत्व गरिरहेका नेता शाक्य आगामी निर्वाचनमा आफूलाई मेयरको रूपमा अघि ल्याउने तयारीमा रहेका छन् ।

६. राजुराज जोशी

यसअघिको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा मेयरको प्रत्यासीको रूपमा रहेका कांग्रेस नेता हुन् राजुराज जोशी । पार्टीको १४औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि बनेका नेता जोशी आगामी निर्वाचनमा काठमाडौँ महानगरका मेयरका स्वभाविक उम्मेदवार मानिन्छन् ।

अघिल्लो पटक निर्वाचनमा पराजय बेहोरेपश्चात् पुनः आगामी निर्वाचनको तयारीमा लागेका नेता जोशी पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेका छन् । नेता प्रकाशमान सिंहनिकट मानिने नेता जोशी २०४७ मा नै काठमाडौं कांग्रेसको जिल्ला कार्यसमिति सचिव हुन् ।

पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीका सदोहर दाइ समेत रहेका नेता जोशी आगामी निर्वाचनमा मेयरको तयारीमा रहेका छन् । यसअघिको निर्वाचनमा एमालेका तर्फबाट हालका मेयर विद्यासुन्दर शाक्यसँग पराजित भएका हुन् ।

७. सपना जोशी

पूर्वमन्त्री एवं कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशी पत्नी हुन् हुन् सपना जोशी । पार्टीको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी जोशीलाई आगामी निर्वाचनमा मेयरको उम्मेदवारको रूपमा हेरिएको छ ।

नविन्द्रराजको निधनपछि उनले सुरुवात गरेका सामाजिक कामलाई निरन्तरता दिँदै राजनीतिमा सक्रियता देखाएकी जोशीलाई नविन्द्रराजको राजनीतिक उत्तराधिकारीका रूपमा हेरिएको छ ।

त्यसैअनुसार आगामी निर्वाचनमा जोशीलाई काठमाडौं महानगरको मेयरको आकांक्षीको रूपमा हेरिएको छ ।

८. प्रगतिमान रञ्जित

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका मेयरका अर्का आकांक्षी हुन् कांग्रेस नेता प्रगतिमान रञ्जित । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको कांग्रेस सभापतिका प्रत्यासी समेत रहेका नेता रञ्जित सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल काठमाडौंका संस्थापक अध्यक्ष समेत रहेका नेता रञ्जितलाई मेयरका रूपमा अघि बढाउने तयारी गरेको छ ।

काठमाडौंको स्थानीय राजनीतिमा चर्चित मानिएका नेता रञ्जित आगामी निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरका आकांक्षीको रूपमा तयारीमा लागेका छन् ।

रञ्जित कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरनको सभापतिका प्रत्यासी रहेका थिए । तर उनका निकटतम प्रतिद्धन्दी निलकाजी शाक्यसँग पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?