काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली सभाको लागि मन्त्रालयले स्थान व्यवस्थापन गर्ने बताएका छन् ।
बिहीबार वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री आलेले आगामी दिनमा राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली अर्पण गर्नको निमित्त मन्त्रालयले छलफल गरेर स्थानको व्यवस्थापन गर्ने बताएका हुन् । उनले देशमा भएका विकृतिहरुलाई चिरेमात्रै कलाकार लामाप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए । मन्त्री आलेले गायक तथा अभिनेता लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदनासमेत प्रकट गरे ।
मन्त्री आलेले भने, ‘११ गते राष्ट्रिय कलाकार जयनन्द लामाको निधन भएको छ । यसप्रति संस्कृति पर्यटन मन्त्रालयको तर्फबाट र मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । देशलाई चिनाउन उहाँले जुन भुमिका खेल्नु भएको छ । यस्ता कलाकार अब देशले पाउन धेरै गाह्रो हुन सक्छ । देशमा भएका विकृतिहरुलाई चिर्दै जान सकेमात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ । कलाकार भनेको राष्ट्रका गहना हुन् । आगामी दिनमा राष्ट्रिय कलाकारहरुको श्रद्धाञ्जली सभाका निमित्त व्यवस्थापनको लागि छलफल गरेर अघि बढाउनेछौँ ।’
गायक लामाको फागुन ११ गते बुधवार बिहान आफ्नो निवास भक्तपुरमा कारबाट लडेर निधन भएको थियो । अहिले गायक लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि राष्ट्रिय नाचघरमा राखिएको छ । आज नै उहाँको पार्थिव शरीर अन्येष्टि गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया