चर्चामा एमसीसी : बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफलमा

लोकपथ
112
Shares

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनबिना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

यता प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रचण्ड र माधवकुमारसहितका नेताहरु छलफल गरेका थिए ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा एमसीसीका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?