प्रधानमन्त्रीले अमेरिकी दबाब झेल्न नसकेर एमसीसी संसदमा पेस गरे : नेता खनाल

लोकपथ
112
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेस गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री खनालले बुधवार यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी बारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ आफ्नै धारणा आएकोले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताए । उनले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताए ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी दस्ताबेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकर्य नहुने बताए । उनले सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त, अमेरिकाको प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै यस्ता कुराहरुमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहीरहने उल्लेख गरिएको समेत बताए ।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाए । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताउनु भयो । उहाँले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । उनले सरकारले नेपालको संविधानको विरुद्धमा गएर एमसीसी संसदमा पेश गरेको भन्दै यो सरकारको लज्जास्पद कुरा भएको बताए।

संवादको क्रममा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा पर्नुभएको बताए । उनले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रश्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको जानकारी दिँदै एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताए । पूर्व प्रधानमन्त्री खनालले नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा भोट हाल्ने र सत्ता गठबन्धनबाट एमसीसी पास नहुने बताए ।

पूर्व प्रधानमन्त्री खनालले आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसीसीमाथि बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौति दिए । पूर्व प्रधानमन्त्री खनालले देशका नागरिकहरुको रगत बगाएर र रगत कुल्चिएर सरकारले एमसीसी सम्झौता अनुमोदन गरेमा त्यो भन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही नहुने बताए । उनले संकल्प प्रश्ताव ल्याएर पनि कुनै तुक नरहेको उल्लेख गरे ।

उनले देशहित बिपरित भइ एमसीसी पास गर्ने अडानमा कांग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताए । उनले प्रधानमन्त्री तथा कांग्रेसका अन्य नेताहरुलाई पनि आफूले देशहित विपरितका काममा आफूले साथ दिन नसक्ने भनेको उल्लेख गर्दै यदी देशहित विपरित एमसीसी पास भए सरकारमा सहभागी दलहरु आ आफ्नो बाटोमा हिँड्नुपर्ने हुनसक्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले नेपाली काँग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा निरन्तर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?