१. सरकारमा हुने क्रान्तिकारीहरूले बाटो भत्काएको भन्दै नेकपा एमालेका अध्यक्ष ओलीले जनाए आपत्ति, सत्तामा बसेका दलहरूले दोहोरो चरित्र देखाएको आरोप ।
२. एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय, थप छलफलका लागि भोलि पनि सचिवालय बैठक बस्दै ।
३. एमसीसी संसदमा जाम भएर नबस्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाको भनाइ, एमसीसी संसद बैठकमा पेस भइसकेकाले छिटै पास र फेलको टुंगो लाग्ने प्रतिक्रिया ।
४. एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरूबीच सहमति नभएको नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ, टेबल गर्नजस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास व्यक्त ।
५. आफूहरूको माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन नदिने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको भनाइ, माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय दिने प्रस्टोक्ति।
६. तीन महिनामा ६० हजार २ सय ३८ थान ई–पासपोर्ट जारी, देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने सरकारको तयारी ।
७. नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न भूमिमन्त्री शशी श्रेष्ठको निर्देशन, नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यावहारिक समस्या समाधान गर्न मन्त्रालय सधैँ तयार रहेको भनाइ ।
८. देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको शिक्षाविद्हरूको भनाइ, पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने धारणा ।
९. भोलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ८ हजार १ सय ४० जनाको परीक्षणमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, थप १ हजार २ सय ५ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु ।
११. साताको दोस्रो कारोबार दिन नेपाली सेयर बजारमा सुधार, नेप्से परिसूचक २५ दशमलव ४१ अंकले बढ्दा ३ अर्बको कारोबार ।
१२. इरानमा सेनाको लडाकु जेट विद्यालयमा ठोक्कियो, दुई चालका दलका सदस्यसहित तीन जनाको मृत्यु, मृत्यु हुने एक जना स्थानीय ।
१३. चारा घोटाला काण्डमा विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय, ६० लाख भारु जरिवाना ।
१४. नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ बाट सातौँ संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने, लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टोली समावेश।
१५. र, जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गतको खेलमा ब्रिगेड ब्वाइज सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित, पराजयसँगै ब्रिगेड ब्वाइज रेलिगेसनमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया