७ असार २०७५, बिहीबार ०७:४९

बर्दी, बन्दुक र कानूनको आधारमा अपराध नियन्त्रण गर्छु: एसएसपी पोखरेल (भिडियो)


प्रकाशित मिति : ७ असार २०७५, बिहीबार ०७:४९

काठमाडौं । जनताको सुरक्षाका लागि दिनरात नभनी काम गर्ने तथा कसैको लोभ लालचमा फसेर एक कप चियासमेत नखाने प्रतिबद्धता व्यक्त गरेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जिम्मेवारी सम्हालेको चार महिना पूरा भएको छ । नक्कली नेपाली नोट प्रकरणमा फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई पक्राउ गरेपछि एसएसपी पोखरेल अझ चर्चामा छन् । चार महिनाको अवधिमा डेढ दर्जनजति आपराधिक घटनालाई पर्दाफास गरेका एसएसपी पोखरेलले काठमाडौंको समग्र सुरक्षा व्यवस्थालाई कसरी नियालेका छन्? अनि देशका सबै जिल्लाका नागरिक, विदेशी, विभिन्न कुटनीतिक नियोग, दुतावास, विमानस्थल, ठूला अस्पताल, भीआईपी, भीभीआईपी को सुरक्षाको प्रवन्ध प्रहरीले कसरी मिलाउँछ? यिनै विषयमा केन्द्रित रहेर लोकपथ डटकमका लागि एसएसपी पोखरेलसँग लोकपथकर्मी अनिता आचार्यले गरेको अन्तर्वार्ताको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका छौंः

सुरक्षाको दृष्टिकोणबाट काठमाडौँ कति सुरक्षित छ ? 

काठमाडौँ अत्यन्त सुरक्षित छ । राजधानी शहर भएकोले केही सामान्य किसिमका अपराध भइरहन्छन् । तर प्रहरीले काठमाडौँको अहिलेको अवस्थालाई शान्त खालको  सिटीको रुपमा लिएको छ ।

तर नागरिक अझै निर्धक्क छैनन् । अहिले पनि आफूलाई परेको अन्याय विरुद्ध  बोल्न वा सूचना दिन तयार हुँदैनन् । यसको कारण के हो ?  

विगतका दिनमा प्रहरीलाई सूचना पु-याउँदा नागरिकले निकै सास्ती खेप्नुपरेको थियो । प्रहरीलाई सूचना दिएकै कारण नागरिकले आफू असुरक्षित भएको तथा विभिन्न समस्याहरू झेल्नुपरेको कुरा साँचो हो । यद्यपी अहिले नागरिकहरूलाई पनि यदि मैले प्रहरीलाई सूचना दिएँ भने मेरो परिचय गोप्य पनि रहन्छ । म सुरक्षित पनि हुन्छु । समाजमा पनि नराम्रा गतिविधिले प्रसय आउँदैनन् भन्ने कुरा महसुस भएको छ । 

तपाईं एसएसपीको कमाण्ड सम्हाल्न काठमाडौं आउनुभएको ४ महिना भयो । कति सफल हुनुभयो ? 

मैले शुरुमै एउटा प्रतिबद्धता जाहेर गरेको थिएँ । अहिले पनि त्यो प्रतिबद्धता पुरा गर्न तयार छु । इमान्दार राष्ट्रसेवक इमान्दारी पूर्वक आफ्नो काम गर्छ भनेर प्रतिबद्धता जाहेर भएको कारण जनतामा विश्वास आउने रहेछ । केही समय मलाई पनि ‘टेस्ट’ गरियोे । तर अहिले जनतामा विश्वास बढेर गएको छ । 

यही प्रतिबद्धताका कारण मलाई धेरै सूचनाहरू पनि आउँछ । यसको मतलब सूचना दिन सकियो भने प्रहरीले काम कारवाही गर्छ भन्ने विश्वास आम नागरिकमा पर्नु हो । सुरक्षाका थे्रट पत्ता लगाउनको लागि पनि प्रहरीप्रति जनतामा विश्वास हुनुपर्छ । जब इमान्दारिता हुन्छ तब काम गर्न सहज हुन्छ । इमान्दारिता वास्तवमा यस्तो शक्ति हो, जुन शक्तिको कारण व्यक्ति कहिल्यै झुक्नु पर्दैन । 
अधिकांश घटनामा पीडकलाई बचाउने कुरामा जोड हुन्छ । शक्ति केन्द्र  पनि त्यसैको वरिपरि घुमिराखेको हुन्छ कि मलाई बचाइदिनुप-यो भनेर । पीडित भन्दा पहिला पीडक मलाई बचाउनुप-यो भन्दै प्रहरीलाई गुहार्छन् । त्यो अवस्थामा राज्यको संयन्त्रले इमान्दारीपूर्वक काम गरेन भने पीडितले न्याय पाउने अवस्था रहँदैन । त्यसैले इमान्दारिता विकास र प्रतिबद्धता कायम गर्न सकियो भने पिडितको पनि प्रहरीप्रति विश्वास बढ्दै जान्छ । 

इमान्दारिताको कुरा गरिरहँदा अतिरिक्त आम्दानीका लागि दरबारमार्ग, सोह्रखुट्टे लगायतका केही ठाउँमा प्रहरी प्रधान कार्यालयबाटै पटके शैलीमा सरुवा भइराखेको देखिन्छ । यो चाहिँ के हो ? 

लामो समय नेपाल प्रहरीले केही कमी कमजोरी बोकेकै हो । नेपाल प्रहरीले मात्रै होइन कि राज्यका हरेक संयन्त्रमा कमी कमजोरी र त्रुटिहरू देखिएकै हो । तर सुधारको लागि समय लाग्छ ।  हामीले यसको सुधारको प्रक्रिया शुरु गरिसकेका छौं । यसको प्रक्रिया कमान्डरबाटै शुरु हुन्छ । म बाटै शुरु हुनुपर्छ । सबैले म  बाट सुधार ग–यौं भने सुधारले गति लिन्छ । अरुलाई सुध्रिनुपर्छ भनेर आफू नसुध्रिने हो भने सुधारले गति लिँदैन ।

निश्चय नै कमी कमजोरीहरू नेपाल प्रहरीमा पनि छ । तर हिजोको दिनमा खुलेआम भइरहेको कमीकमजोरीहरू वा अपराध आजको दिनमा आउँदा कसैको डर त्रासमा परेर वा लुकिछिपी भइरहेको छ । तर त्यो पनि विस्तारै अन्त्य हुन्छ । तर अबका दिनमा कमी कमजोरी देखिन आयो भने त्यसको ‘बचाउ’ हुँदैन । लुकेको छिपेको अवस्थासम्म त्यो बच्ला तर बाहिर आएपछि न संगठन, न संगठन प्रमुख न कमान्डर कसैले पनि बचाउने छैन । 

तपाईंले एसएसपी भएर कमाण्ड सम्हाल्न आउँदा नै गल्ती गर्नेको बचाउ हुँदैन भन्नुभएको थियो । कति लामो लिस्ट तयार भयो ?

म आइसकेपछि धेरै जवानहरू कारबाहीमा परेका छन् । स–साना त्रुटिमा पनि मैले कारबाही गरिरहेकै हो । किनभने हामीले कमी कमजोरी बोक्नु हुँदैन । हामी मुलुक र जनताप्रति सबैभन्दा जिम्मेवार राज्य संयन्त्रका कर्मचारी हौं । हामीसँग अरुसँग भन्दा बढी अधिकार र कर्तव्य छ । हामीसँग युनिफर्म छ । हतियार छ र कानून पनि । कानूनलाई सिरोपर गरेर युनिफर्म र हतियारको बलमा कार्यान्वयनमा लैजान पर्छ । त्यस हिसाबले हामीले सशक्त रुपमा कानून कार्यान्वयन गर्ने निकायको सदस्य भएको हिसाबले पनि अरुले बोकेको कमी कमजोरी  हामीमा हुनुहुन्न । बरु कमी  कमजोरीविरुद्ध हामी उत्रनुपर्छ । अरुले बोकेको कमी कमजोरी अन्त्य गर्ने जिम्मेवारी हाम्रो हो । अरुलाई कानूनी दायरामा ल्याउने काम  गर्ने अन्य निकायको बीचमा बसेर पनि हामीले काम गरिरहेका हुन्छौं।

अबका दिनमा कमी कमजोरी देखिन आयो भने त्यसको ‘बचाउ’ हुँदैन । लुकेको छिपेको अवस्थासम्म त्यो बच्ला तर बाहिर आएपछि न संगठन, न संगठन प्रमुख न कमान्डर कसैले पनि बचाउने छैन । 

भन्सार, राजश्व, बजार अनुगमन चौतर्फी रुपमा उहाँहरूको साथमा रहेर काम गरिरहेका हुन्छौँ । प्रहरीविना कुनैपनि निकायले काम  गर्न सक्ने अवस्था छैन । उदाहरणका लागि एउटा ठूलो केसमा अनुसन्धानको कुरा आएपछि कसले अनुसन्धान गर्ने भनेर सबै डराए । शक्तिसँग डराए । प्रहरीलाई बोलाएर भनियो तपाईं यो अनुसन्धान गर्नुहुन्छ ? प्रहरीले मज्जाले गर्न सक्ने बतायो । अन्तत्त्वगोत्वा प्रहरीले आँट पनि देखायो । 

प्रहरीलाई पब्लिकले हेर्ने नजर पनि फरक हुनुपर्छ । संगठनमा एक दुई जना व्यक्तिमा भएको कमी कमजोरीका कारण सिङ्गो संगठनलाई कमजोरीको रुपमा हामीले हेर्नु हँुदैन ।

प्रहरी भनेको राज्यको सबैभन्दा अनिवार्य र सशक्त संगठन हो । यदि यही संगठनलाई आलोचित बनाउने टिका टिप्पणी गर्ने भोलि आफ्नो  खुट्टामा आफैले बञ्चरो हानेजस्तो हुन्छ । जसले गल्ती गर्छ, त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । 

त्यो हिसाबले  हामी गयौं भने मात्रै सुधारको गति बढेर जान्छ । त्यसैले नागरिकको दृष्टिकोण पनि परिवर्तन हुनुपर्छ ।    

त्यसो भए नागरिक किन प्रहरीसँग डराउँछन् त ? 

डर सबै नागरिकलाई छैन । अपराधको जालोभित्र पसेर अपराध गर्नेहरू प्रहरीसँग डराएका हुन् । प्रहरी देख्दा अपराधीहरू डराउनुपर्छ । समाजका सज्जन व्यक्तिहरू प्रहरी देख्दा निर्धक्क, ढुक्क, खुसी महसुस गर्नुहुन्छ । तर विगतको लामो राजनीतिक अस्थिरताको समयमा  धेरै आपराधिक व्यक्तिहरू जन्मिएका छन् । त्यसैले उनीहरू धेरै कमीकमजोरीहरू बोकेर बसेका छन् । अहिले सभ्य, शिष्ट सुकिला मुकिला देखिए पनि विगतमा धेरै अपराध गरेका छन् । विभिन्न शैलीमा सामान्यदेखि गम्भीर प्रकृतिका अपराध गरेका मान्छेहरू हाम्रै समाजमा छन् । खासगरी आर्थिक अपराध गर्नेहरू धेरै छन् । यसले गर्दा हामीलाई देख्दा उनीहरू झस्किएका हुन् ।

दोषी फेला नपरुञ्जेल अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्रने र यातना दिने गरेका कारण डर लाग्छ भन्नेहरू पनि छन् नि । 

यो धेरै पुरानो कुरा हो । अहिले त्यस्तो छैन । कुनै व्यक्तिमाथि केही घटना, अप्ठेरो भएको छ र प्रहरीको अनुपस्थितिमा कोही नागरिकले सहयोग ग–यो भने प्रहरीले पुरस्कृत गर्छ । हामी प्रहरीमा भर्खरै प्रवेश गरेको समयमा हामीले पनि सुन्थ्यौँ । तर अहिले त्यस्तो छैन । प्रहरीले मानवअधिकारको पूर्ण सम्मान र पालना गरेर कानूनको दायरामा लैजाने काम गर्छ ।

राजनीतिक हस्तक्षेप नहुने हो भने जस्तोसुकै अनुसन्धानमा पनि नेपाल प्रहरी सशक्त छ भनेर बेलाबखतमा रिपोर्टहरू सार्वजनिक हुन्छन् । खासमा राजनीतिक हस्तक्षेप कत्तिको हुन्छ ?

प्रायः पीडकहरू शक्ति केन्द्रमा छिटो पुग्छन् । समाजमा रहेका सबै प्रतिष्ठित व्यक्तिबाट उहाँको सरोकार रहेको विषयवस्तुमा बचाउको लागि केही सानोतिनो आग्रह भइराखेको हुन्छ । तर अहिले पूरै संगठनमा नयाँ र राम्रा अफिसरहरू हुनुभएका कारण त्यस्तो आग्रह, पूर्वाग्रह सुन्न छाडिसकेको अवस्था छ । 
व्यक्तिगत रुपमा तपाईंले कत्तिको हस्तक्षेप झेल्नुभएको छ ?
अलिअलि । किनकि ४ महिनाअघि मैले प्रतिवद्धता जाहेर गरेको छु कि महल र झुपडीमा बस्ने नागरिकको लागि समान व्यवहार गर्छु भनेर । मलाई याद छ, ठूलो पोजिसनमा बसेकाहरूबाट कहिलेकाहीँ  फलानोलाई छोडिदिनुप–यो भन्ने अनुरोध आउँछ । मैले जवाफमा तपाईँहरू त ठूलो मान्छे पर्नुभयो । पक्रिएकालाई छोडुँला तर मैले तपाईंको मान्छेसँगै पहुँच नभएको मान्छे पनि पक्रेको छु छोडुँ कि नछोडुँ? भनेर प्रतिप्रश्न गरेपछि उहाँहरू नाजवाफ हुनुभयो । 

म इमान्दार छु भन्ने सन्देश बाहिर गएको छ भनेपनि काम गर्न धेरै सजिलो हुन्छ । त्यसले गलत काम गर्दैन भन्ने सोचेरै धेरै अनुरोधहरू आउँदैनन् । मलाई काम गर्न अप्ठेरो हुने प्रेसर आएको छैन । जसले कानूनसम्मत काम गर्छ यसलाई भन्नुको औचित्य छैन । भन्ने पर्दोरहेछ, धेरै हदसम्म ।  

प्रहरीमा इमान्दारीताको कुरा गरिरहँदा केही स्टिङ अपरेसनमा यहाँकै संगठनका पदाधिकारीहरूले संलग्नता देखिन्छ । यस्तो देखिरहँदा इमान्दारिपूर्वक काम गर्छु भन्ने यहाँहरूलाई के लाग्छ? 

यो ठूलो संगठन हो । प्रहरी मात्रै ७५ हजार पुगिसेकका छन् । बहुजाति, बहुभूगोल, बहुभाषी, बहुसंस्कृति, भिन्न आचरण, भिन्न क्षमता भएका व्यक्तिहरू संगठित भएका हुन्छन् । त्यसले गर्दा आमूल परिवर्तन गर्छु भनेर लाग्दा पनि कतिपय कमी कमजोरीहरू भइराखेका हुन्छन् । ७५ हजार जनामध्ये एक हजार जनाले मात्रै नराम्रो गरेका छन् भनेपनि त्यसमा सिंगो संगठनको नाम जोडिन्छ । कमी कमजोरीहरू छन् । घटाउने प्रयास जारी छ । कारबाही गरिरहेका छौँ । सुधारको गति अगाडि जानको लागि सबै प्रक्रियामा सुधार आउनुपर्छ । त्यसका अलावा चेन अफ कमान्डमा चल्ने संगठन भएको हुनाले जहिल्यै पनि परिवर्तनको प्रयास गरिराखेको हुन्छ । मलाई लाग्छ, मेरो शरीरका नशा नशामा समाज परिवर्तनको सपनाहरू दौडिरहेको छ ।

म इमान्दार छु भन्ने सन्देश बाहिर गएको छ भनेपनि काम गर्न धेरै सजिलो हुन्छ । त्यसले गलत काम गर्दैन भन्ने सोचेरै धेरै अनुरोधहरू आउँदैनन् ।

स–सानो कुरामा पनि ठूलो कारबाही गराएर भएपनि संगठन सुदृढ बनाउनेबारे कोसिस भईरहेको हुन्छ । संगठनभित्र र बाहिर हर–तरहले कमीकमजोरी बोक्नेहरूलाई कार्बाही गर्ने, ब्रिफिङ गर्र्नेे, कुनै घटना भएको खण्डमा उदाहरणको रुपमा सबै सदस्यलाई जानकारी पु¥याउने काम गरिराखेको हुन्छ, निरन्तर रुपमा । मुलुकमा अहिले राम्रो वातावरण बनिरहेको छ । सरकारबाट प्रतिवद्धताहरू आइराखेको छ । यही प्रतिवद्धतामा आगामी दिनमा हिँड्न सकिराख्यौँ भने यो मुलुकले छिट्टै फड्को मार्छ । हामी सबै क्षेत्रमा पनि आमूल परिवर्तन गर्दैछौँ ।

क्रिमनल ल मा दार्शनिक साइमनले सय अपराधी छुटुन् तर एउटा निरपराधीले सजाय भोग्नु नपरोस् भनेका छन्, तर नेपालमा ठ्याक्कै यसको उल्टो देखिन्छ, किन यस्तो भएको ? 

हामी एकदमै शतर्क छौँ । म पटकपटक आफू मातहतका अधिकृतलाई भनिराखेको हुन्छु । एउटा व्यक्ति निर्दोष भएर पनि आफ्ना सम्पूर्ण अधिकार वञ्चित भएर थुनिनुपर्दा कति पीडाबोध हुन्छ ? बरु कुनै दोषी व्यक्ति उम्केला त्यसलाई अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । तर निर्दोष व्यक्तिले सजाय पाउँदा त्यसले बढी क्षति गर्छ । 

कहिलेकाहीँ मिडियालाई देखाउनकै लागि पनि यति जना पक्रिन सफल भयौँ भन्नको लागि निर्दोष व्यक्ति परिरहेको हुन्छन् नि?

त्यो धेरै पहिलेको कुरा हो । अहिले माथिल्लो लेभलदेखि कमान्डर लेभलसम्मै निर्दोष व्यक्ति कुनै हालतमा पक्राउ नपरोस् र दोषी नछुटोस् भन्ने निर्देशन छ । अहिले त्यस्तो छैन । हामी कटिवद्ध छौँ ।  

काठमाडौँको प्रहरी प्रमुख हुनुहुन्छ । सर्वसाधारण, भीआईपी, विदेशी नागरिक सबैको सुरक्षा संवेदनशीलता । कसरी प्रबन्ध मिलाउनुभएको छ ? 

मैले यो जिम्मेवारी सम्हालेको ४ महिना भयो । म र मेरो मातहतका अधिकारीहरू ४ देखि ५ घण्टा मात्रै सुत्नुहुन्छ । भलै यो मातृभुमिको सेवा गर्न पाउँदा हामी खुसी छौँ । तर काठमाडौँ एउटा जिल्लामात्रै होइन । राजधानी भनेको झण्डै एउटा मुलुक हो । ७७ जिल्लाका नागरिक, विदेशी नागरिक, विभिन्न कुटनीतिक नियोग, दुतावास, विमानस्थल, ठूला अस्पताल, भिआईपी, भीभीआईपी को सुरक्षार्थ र व्यवस्थापनका खातिर अहोरात्र खटिनुपर्छ । एक हिसाबले कठिन छ । तर यो मातृभूमिप्रति एउटा अवसर हो । राजधानी भएको कारण यदि यहाँ कुनै किसिमको समस्या देखियो भने सिंगो मुलुकको सुरक्षा स्थितिमा प्रश्न उठ्छ । र संसारभरी हाम्रो सुरक्षाको विषयलाई लिएर नकारात्मक दृष्टिकोण बन्छ । सुरक्षा चुनौती, त्यसका दृष्टिकोण, सुरक्षाको मूल्याङ्कन, व्यवस्थापन यी सबै विषय एकैसाथ टिपोट र विश्लेषण गर्नुपर्ने हुन्छ । न्यूनतम स्रोत साधनमा बढी भन्दा बढी समय खर्चिएर व्यवस्थापन गरिरहेका छौँ । हाम्रो यही प्रतिवद्धताको कारण सर्वसाधारणदेखि भीभीआईपीसम्मको सुरक्षामा सफल भएका छौँ ।

अन्त्यमा,

त्यही सेवकको साधन स्रोत सुविधा अवसर बाट हामी पछाडि छौँ ।  जनताको लागि २४ घण्टा खटिने प्रहरी बस्ने सजिलो कार्यालय छैन । ७२ सालमा भत्किएका संरचनाहरू पूनर्निर्माण भएका छैनन् । अहोरात्र जनताको सेवामा खटिएका प्रहरीको लागि ट्वाईलेट र सफा खानेपानीको सम्म व्यवस्था छैन । अहिले हामी जुन अवस्थामा छौँ, त्यो अवस्था हामीले चाहेको अवस्था होइन ।
आम नागरिकले आजसम्म जतिपनि पीडा भोग्नुपरेको छ । त्यो सबै हाम्रो कारणले हो । समाजमा भएका तस्करी अपराध, त्रासत लुटपाट जतिपनि कृयाकलाप भएका छन् हामी आफैँले गर्दा भएका छन् । यहाँ अपराध कसैले गरेको छैन । सबै अपराधहरू हामीहरूले नै गरेका छौँ । मैले नगरेको हुँला तर अपराध कोही अरुका कारणले भएको वा हुने होइन । यसमा समाजको कुनै व्यक्ति विशेषको संलग्नता रहेको हुन्छ ।

मानवीय  मूल्य मान्यतालाई विचार गरेर सभ्य शिष्ट नागरिक बन्नुपर्छ । मुलुकप्रति प्रतिवद्ध बन्नुपर्छ । आफू सच्चिने प्रयास गरौं । यदि मानवीय बन्ने कोशिस गरिएन भने इमान्दारीता र प्रतिवद्ध भएनौं भने अब मुलुक बन्दैन । यो प्रयासको थालनी गरिएन भने हाम्रा प्रयासहरूले गति लिँदैनन् । अहिले गुन्डागर्दी तस्करीले जसरी सम्मान पाइराखेका छन् । त्यसको निरन्तरता भइरह्यो भने बेइमान नागरिकको मनोबल बढ्छ र इमान्दारिता हराउँदै जान्छ । त्यसैले इमान्दार मानिसलाई सम्मान गर्दै बेइमान मानिसहरूलाई तिरस्कार गर्दै जानुपर्छ । र अन्तिममा प्रहरीलाई सहयोग गर्नु सबै नेपालीको दायित्व हो । अपराधमुक्त समाज निर्माणको लागि प्रहरीलाई सूचनाको सहयोग गर्न आह्वान गर्दछु ।  
 

प्रतिक्रिया दिनुहोस
सरकार नेपाली जनतामा खुशी ल्याउन लागिरपरेको छः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले

खुमन अधिकारीले खोले दिल्लीमा रातभर प्लेन कुर्दाको पीडा, यस्ता छन् रोचक किस्सा (भिडियो अन्तर्वार्ता)

काठमाण्डौं । खुमन अधिकारी नेपाली लोक तथा दोहोरी गीतसंगितका एक दरिलो खम्बाका रुपमा

फुटबल स्टार किरण चेम्जोङ – जसले आफ्नो पीडालाई शक्तिमा बदले

काठमाडौं । किरण चेम्जोङ नेपाली फुटबल प्रेमीहरुका लागि निकै प्रिय नाम हो ।