‘उता हजुर मुसुक्कै’– समाज रूपान्तरणको एउटा कथा

काठमाडाैं । ‘उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै ।’ पछिल्लो केही दिनयता टिकटकदेखि सामाजिक सन्जालमा जताततै घन्किने लाइन हो यो ।

सुरेश अधिकारीको शब्द/संगीत अनि रचना रिमाल र कृष्ण विकको स्वर रहेको ‘हजुर मुसुक्कै’ बोलको गीतको चर्चा यतिबेला सर्वत्र छ ।

भव्य सेट बनाएर दरबारभित्रको कथामा निर्माण गरिएको यस गीतमा महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंहको शीर्ष भूमिकामा छन् । त्यस्तै सुरवीर पण्डित, प्रियना आचार्य, प्रिन्स विश्वकर्मालगायतका चर्चित व्यक्तिहरूलाई भिडियोमा देख्न सकिन्छ ।

बाईसे–चौबीसे राज्य हुँदा पश्चिम नेपालको एक राज्यका राजखलकका दुई पुस्ता र वादी समुदायकी नर्तकीबीचको प्रेमलाई भिडियोमा देखाइएको छ ।

भिडियोले सामाजिक रूपान्तरणको कथालाई प्रस्तुत गरेको छ । जातपात, उचनीचलाई लिएर राजामा आएको परिवर्तनको कथा भिडियोमा हेर्न सकिन्छ ।

भिडियोमा राजकोट दरबारको कथा देखाइएकाे छ । महाराज बलदेव सिंह (राजेश हमाल) यस दरबारका राजा हुन् । दरबारमा नाच्न आउने नर्तकी विष्ना वादी (निरुता सिंह)सँग महाराज बलदेव लुकीलुकी प्रेम गर्छन् ।

हठी स्वभाव र रमाइलो गरिरहन मन पराउने राजा बलदेवले विष्नालाई सुनपानी छर्किएर चोखो बनाई दरबारभित्र प्रवेश गराएका छन् । यो प्रेम राजकुमार राजदेवले सानैदेखि देखेका हुन्छन् ।

रानी यशोदाको मृत्युपछि राजा बलदेवले अर्काे रानी बिहे नगरी राजकुमार राजदेवलाई हुर्काउँछन् । यता विष्ना वादी दरबारमा आउँदा आफ्नो भतिजी राइमतीलाई पनि लिएर आउने गर्छिन् । भतिजी राइमती र राजकुमार राजदेवबीच बाल्यकालदेखि नै प्रेम हुन्छ ।

राजकुमारको २५औँ जन्मदिनको अवसर पारेर विष्ना वादी र जवान राइमती वादी दरबारमा नाच्न आइपुग्छन् । दरबारका राजा रजौटाहरूको भिड हुन्छ ।

समारोहको अन्तिममा राजाले बझाङी राजाकी सुपुत्री दुर्गादेवीसँग राजकुमारको स्वयम्बर हुने रैबार आएकाे कुरा घोषणा गर्दा राजकुमारले अस्वीकार गर्छन् । उनले त्यहीँ राइमती वादीसँग सानै उमेरदेखि भएकाे प्रेमको खुलासा गर्छन् र राइमतीसँगै विवाह गर्ने अडान लिन्छन् ।

आफ्नो प्रेम सफल हुन नसके पनि राजकुमारको प्रेमका अगाडि राजा बलदेव घुँडा टेक्छन् । राइमती र राजकुमारबीचको प्रेमलाई स्वीकार्दै आफ्नो राज्यमा अब कुनै जातपात र उचनीच रहने घोषणा गर्छन् । मनुष्यले बनाएको जातपात र उचनीचलाई मनुष्य जीवनले नै हटाउनुपर्छ र यो कार्य आफैँबाट सुरु गर्छु भन्दै राजा बलदेवले जनहितमा सन्देश जारी गरिदिन्छन् ।

आइतबार रिलिज भएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको थियो । शुक्रबारसम्म आइपुग्दा यो गीत १३ लाख ८० हजार भिउज र पाँच हजार छ सय कमेन्टसहित युट्युब ट्रेन्डिङको शीर्ष दुई स्थानमा छ ।

जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा खर्चका हिसाबले पनि अन्य म्युजिक भिडियोभन्दा बढी लगानी भएको देखिन्छ ।

बजारमा ३५ देखि ५० लाखसम्म खर्च लागेको हल्ला चलेको छ । तर त्यत्रो नभए पनि तुलनात्मकरूपमा केही बढी खर्च लागेको बताउँछन् निर्देशक आग्री ।

‘चर्चित स्टारकास्टहरूलाई ३–४ दिनसम्म राखेर रातदिन काम गरेका छौँ, तुलनात्मकरूपमा अन्य म्युजिक भिडियोभन्दा महँगो हुने त नै भयो’, उनले भने ।

आफूले चलचित्रको लागि कथाको कन्सेप्ट बनाए पनि कोरोना र लकडाउनका कारणले अगाडि बढ्नसक्ने अवस्था नभएकोले त्यहीभित्रको एउटा कथालाई गीतमार्फत प्रस्तुत गरेको निर्देशक आग्रीले बताए ।

‘मैले ३–४ वर्षपहिले नै मुभीका लागि दरबारको कथा प्रस्तुत गर्ने एउटा कन्सेप्ट सोचेको थिएँ, कोरोना र लकडाउनले गर्दा तत्काल त्यो सम्भव भएन’, उनले भने, ‘त्यहीभित्रको एउटा सामाजिक रूपान्तरणको कथालाई गीतमार्फत प्रस्तुत गरिएको हो ।’

कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन रहेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । याक एन्ड यति होटलमा खिचिएको गीतलाई ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?