‘९ वटा मुलुकमा एमसीसी चलिरहेको छ त्यहाँ कतै पनि सेना परिचालन भएको छैनन्’

लोकपथ
11.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काईरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद कोईरालाले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए । सांसद कोईरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।

सांसद कोईरालाले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेको छ । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् । धेरै कुराहरु छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन् । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ । शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिशन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपति कसैले दिँदैन । यसको पछि उनीहरुको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ ।’

सांसद कोईरालाले अमेरिकाले सदने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गरे ।

त्यस्तै बैठकपछि बोल्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको धारणा नै आफ्नो धारणा रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?