काठमाडौं । नेपाली इतिहासमा २००७ को फागुन ७ निकै ठूलाे उपलब्धि भएकाे दिन हाे । सात सालको त्याे जनक्रान्ति नै सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूको जननी हो पनि भनिन्छ ।
याे दिन अर्थात् फागुन ७ केवल प्रजातन्त्र दिवस मात्र होइन, धेरै महत्वपूर्ण सन्दर्भहरू पनि जोडिएको बहुआयामिक ऐतिहासिक दिवस हो ।
संविधानसभाको निर्वाचन गर्ने पहिलो घोषणा २००७ फागुन ७ गते आइतबार राजा त्रिभुवनको सम्बाेधनद्वारा भएको थियो, ‘...हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिकसभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार हवस्…।’
सोही दिन राजा त्रिभुवन ३ महिनाभन्दा लामो दिल्ली बसाइपछि नेपाल फर्किँदा गौचर हवाइ अड्डा (त्रिभुवन विमानस्थल)मा जनसमुदायको विशाल भिड एकत्रित थियो ।
२०४६ सालको ४९ दिने सफल जनआन्दोलनको शुभारम्भ यसै दिन भएको थियो । २०१५ सालमा नेपालको इतिहासमै प्रथम आम निर्वाचन यसै दिनबाट सुरू भयो । विभिन्न प्रस्तुति बोकेको कान्तिपुर पब्लिकेसन्सकाे जन्म यसै दिनमा भएकाे हाे ।
प्रजातन्त्रका मूल्य र मान्यताको रक्षाका विषयमा सरकार नालायक भयो भन्दैमा नागरिक समाज विचलित भएको छैन, प्रतिबद्ध छ भन्ने सन्देश फागुन ७ को साइत पारेर स्थापित अन्य धेरै प्रभावकारी सञ्चार माध्यमहरूले दिएका छन् ।
१२० दिन चलेको ७ सालको क्रान्ति सफल बनाउने प्रभावकारी माध्यम, एकमात्र रेडियो नेपाल ७ सालको क्रान्तिमा ‘नेपाल प्रजातन्त्र रेडियो’ प्रजातान्त्रिक आन्दोलनकै उपज हो । प्रजातन्त्रको सुदृढीकरणमा यसैगरी इँटा थप्दै लैजान सकिन्छ भन्ने उत्प्रेरणा यसबाट मिल्दछ ।
पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारलाई पनि यस दिनको विशेष महत्व छ । राजा त्रिभुवन यसैदिन स्वदेश फर्किएपछि उनी राजगद्दीबाट स्वतः हटाइए । उता उनकी रानी कोमल यसै दिन जन्मेकी थिइन् ।
हरेक वर्ष यो दिवसलाई जनताले पवित्र दिवसको रूपमा लिँदैआएका हुन्, जुन दिन कारागारमा राम्रो आचरण बनाएर आफूभित्र मानवताको उत्थान गर्न सफल सयौँ कैदीहरू बाँकी कैद मिनाहा पाएर मुक्त हुने गर्छन् ।
उज्यालो र आधुनिकताका सम्पूर्ण ढोका खोलिदिएको यो दिवसको गरिमाका धेरैवटा पक्ष छन्, जसलाई सरकार आफैँले उपेक्षा र तिरस्कार गर्नुभन्दा घोर अन्याय र अराजकता सायद अरू नहोला । सत्ताको त्यस्तो हर्कत सम्पूर्ण लोकतन्त्रवादीहरूलाई उत्तेजित बनाउने बदनियतको द्योतक हो ।
डा. बाबुराम भट्टराईलगायतका एकथरि एकथरि ‘अजासु’ (अतिजान्ने सुन्ने) राजनीतिवाजहरू २००७ सालको क्रान्तिका अत्यन्त सीमित उपलब्धि थिए भन्नेगरेको सुनिन्छ । प्राप्त उपलब्धिलाई अवमूल्यन गर्नु राजनीतिक बेइमानी हो ।
२०६२–६३ को जनआन्दोलनलाई ‘दोस्रो जनआन्दोलन’ भनेर ७ सालको जनक्रान्तिलाई विस्मृतिमा लैजान खोज्ने एउटा कुटिल मनोवृत्ति पनि यहाँ चलिरहेको छ । २०४६ सालको जनआन्दोलनलाई ‘पहिलो’ मान्ने हो भने सातसालको जनक्रान्ति कता लुकाउन खोजेको ?
जनआन्दोलन वा जनक्रान्तिहरूको यस्तो मनगढन्ते गणनाको आधार के हो र नियत के हो ? इतिहास दबाउन वा बङ्ग्याउन खोज्ने यस्ता बेइमानी लोकतान्त्रिक आन्दोलन र त्यसको संवाहक नेपाली कांग्रेसप्रति इर्ष्याको भावनाबाट उक्सिएको सो पार्टीले बुझ्नुपर्छ । त्यही इर्ष्याले कांग्रेसलाई ‘दुष्मन’ घोषित गरेको हो । यस्तो ताल र तरिका अपनाएर लोकतन्त्र कसरी सफल र सार्थक हुन पाउँछ ?
लोकतन्त्रको अगुवा शक्ति भनिने नेपाली कांग्रेस पनि प्रजातन्त्र दिवसको वरदान पैतृक सम्पत्तिको अंशका रूपमा हातपरेको, बजार साँघुरिएको र यथास्थितिमा चलेको पुरानो कम्पनीजस्तो मात्र हुँदै छ जहाँ देउवा, कोइराला, पौडेल आदि नेताहरू मुख्य सेयरहोल्डरका रुपमा आफूलाई उभ्याउँछन् । ठूलो भाग खोज्ने लुछाचुँडीको गतिविधि बिहान सबेरदेखि राति अबेरसम्म चलिरहन्छ, तर लोकतन्त्रको संवाहक यो पार्टीलाई संगठित र प्रभावकारी बनाउने दिशामा पदाधिकारीहरू कसैमा पनि गम्भीरता नदेखिनु आजको समस्या भएको छ । उनीहरू आ–आफ्ना भागको लाभांश मात्र हिसाब गर्दछन् तर कम्पनीको बजार विस्तारका लागि सिन्को पनि भाँच्न नचाहने–नसक्ने साहुझैँ लाग्दछन् ।
एउटा प्रतिष्ठित लोकतान्त्रिक पार्टी लोकतन्त्रका यी दिनमा घिसिपिटी चलेको बिजनेस कम्पनीमा रूपान्तरण हुनु लोकतान्त्रिक आन्दोलनका लागि कति स्वागतयोग्य होला, त्यो त जिम्मेवारहरूले नै जान्ने कुरा हो । कम से कम फागुन ७ गतेले यतातिर सोच्न प्रेरित गरोस् ।
२००७ सालको परिवर्तनपछि नै आधुनिक नेपालको जग शून्यबाट शुरू गरिएको हो । मौलिक अधिकारमा नयाँ ब्यवस्था, राजनीतिक दलका गतिविधिमा तिब्रता, प्रशासन ब्यवस्थामा आधुनिकीकरणको शुभारम्भ, नेपाल प्रहरी (पुलिस फोर्स) स्थापनाको पक्रिया प्रारम्भ, सर्वाेच्च न्यायालयको स्थापना, विर्ता प्रथाको उन्मूलन, राष्ट्रिय बजेट रेडियो नेपालबाट सार्वजनिक प्रस्तुति गर्ने परिपाटीको थालनी, सातसालपछि एकै वर्षमा देशभरि तीनशय विद्यालयको स्थापना, राजपत्र (गजेट) को प्रकाशन, नागरिक संघ–संस्थाहरूको देशैभरि स्थापना आदि त्यो परिवर्तनका धेरैमध्ये केही परिणाम हुन् ।
२००७ सालको परिवर्तन नै सम्पूर्णता हो भन्ने कसैको दाबी होइन । पूर्णताको प्रक्रिया कहिल्यै टुङ्गिदैन, अन्तहिन प्रक्रिया हो । तर फागुन सात गतेले परिवर्तनको जुन प्रक्रिया सुरू गर्यो, त्यही प्रक्रियाको कडीका रूपमा आजको संविधान बनेको हो ।
इतिहासबाट हामीले जे पाएका छौँ, त्यही नै हाम्रो सम्पत्ती हो । यो सम्पत्तिले लोकतन्त्रलाई फलदायी बनाउने अनुकूलता र सहजता यथेष्ट मात्रामा दिनसक्छ । यसको सदुपयोगको कला नै नेपालको परम आवश्यकता हो । एउटाले अर्कोका खोट र दोषमात्र कोट्याउने होइन, आफैँभित्रका कमीकमजोरी र गल्ती केलाउनु महानता हो र अगाडि बढ्ने लोकतान्त्रिक संस्कारको शुभलक्षण हो । यहाँ कसैले ‘मधेशविरोधी’ भएर बुद्धिमानी देखाउन सक्दैन, न त जातीय राज्यका नाममा विर्ताको हक दाबी गरेर आफ्नो हित पाउनसक्छ । भ्रष्ट र आपराधिक राजनीतिका नाइकेहरूको विरोध गर्नु लोकतन्त्रको चरित्र हो ।
भ्रष्टाचार, दण्डहिनता, हुकुमी शासन, आर्थिक अपराधजस्ता विकृतिको विरोध भएन भने लेखेर राखे हुन्छ, लोकतन्त्रको भविष्य त्यस्तो राज्यमा सुनिश्चित हुँदैन । उनीहरूका भ्रष्ट र आपराधिक चरित्रसँग सती जानुपर्ने जिद्दीमात्र हुनपुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया