अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

लोकपथ
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’(सिद्धान्त तथा नीतिको परिचयसहित) नामक पुस्तक सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसको सिद्धान्त तथा नीतिको परिचयसमेत समेटिएको उक्त पुस्तकको विमोचन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता केसी, लेखक तथा समिक्षक पुरुषोत्तम दाहाल, लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम लगायतले आफ्नो भनाइ राखेका थिए ।

पुस्तकबारे बोल्दै प्रधानमन्त्री देउवाले उक्त पुस्तकले पुराना पुस्ताका धेरै व्यक्तिहरुलाई नयाँ पुस्ता समक्ष चिनाउन मद्धत गर्ने बताए । नेपाली कांग्रेसमा योगदान दिने धेरै व्यक्तिहरुलाई पुस्तकले समेटेको बताउँदै नेता र नेतृत्वप्रति सम्मान बढाउनुपर्नेमा जोड दिए । अझै पनि कतिपय ठाउँमा कांग्रेसका पुराना नेताहरुबारे कार्यकर्ताहरु अनविज्ञ रहेको बताउँदै यस्ता पुस्तकले त्यसलाई चिनाउने काम गर्ने भन्दै पुस्तकको सफलताको शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै कांग्रेस महामन्त्री थापाले पुस्तकबारे बोल्दै पार्टीसँग आवद्ध हुने हरेकलाई किन र केका लागि पार्टीभित्र लागियो भन्ने कुराको जानकारी राख्नुपर्नेमा जोड दिए । साथै पार्टीभित्रको नीति विधि र शिद्धान्तलाई चिनाउनका लागि पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने थापाको भनाइ रहेको छ ।

त्यस्तै लेखक तथा समिक्षक दाहालले पुस्तकबारे बोल्दै पुस्तकले नयाँ र पुरानो पुस्ताबीचको सम्बन्ध सेतुको काम गर्ने बताए । पार्टीका पुराना पुस्ताले नयाँ पुस्ताका लागि इतिहासिक कुराहरुको बारेमा यसरी नै संग्रहित गरेर पस्किनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली कांग्रेसको इतिहासमा एक राम्रो दस्तावेज लेखिएको बताउँदै दाहालले उक्त पुस्तकले नेता केसीको थप परिचय बढाएको भन्दै प्रशंसा समेत गरे ।

पुस्तकबारे बोल्दै लेखक तथा समिक्षक गौतमले नेपाली कांग्रेस बुझ्न चाहनेहरुका लागि उक्त पुस्तक राम्रो हुने उनको भनाइ रहेको छ ।

त्यसैगरी आफ्नो पुस्तकबारे बोल्दै नेता केसीले आफूले आफ्ना लेख रचनाहरुको संग्रह मात्रै नभइ नेपाली कांग्रेसमा योगदान दिएका गुमनाम पात्रहरुको बारेमा समेत उजागर गरेको बताए । त्यसैगरी पार्टी भित्र रहेर मात्र नभइ पार्टी बाहिर रही स्वतन्त्र रुपमा समेत लोकतन्त्रको लागि योगदान दिनेहरुका लागि सम्मान र स्मरण गर्ने बेला आएको प्रति प्रधानमन्त्री एवं सभापति देउवाको ध्यानाकर्षण गराए । आफूले कोरोना महामारीको समयमा पुस्तकको लेखनको उपयुक्त समय पाएको बताउँदै नेता केसीले पुस्तक लेखनदेखि प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

नेता केसीले यस पुस्तकबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे ।

उनले भने, ‘यो किताव झन्डै झन्डै म केन्द्रीय कार्यसमितिको सदस्य भएको २६/२७ वर्ष भयो । यो बीचमा जहाँ जहाँ जुन प्रशिक्षणका कार्यक्रमहरुमा देशविदेशमा सहभागी बनेँ । त्यहाँ नेपाली कांग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षहरुको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाहरुको उत्तर मैले जे दिन्थेँ त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिएँ । यो मेरो २०/२२/२५ वर्षकै प्रयत्न हो । यसमा नेपाली कांग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरुलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र वास्तविकता पुगोस् भन्ने प्रयास हो । इतिहासमा कांग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान पर्‍याएका छन् । उनीहरुले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था कांग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ । भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरुलाई उत्खनन गरेर यसमा राख्ने कोशिस यसमा भएको छ । अर्को कुरा यसमा १३ औँ महाधिवेशनसम्म नेपाली कांग्रेसले लिएको कार्यदिशा, वीपी कोईरालाले देखाएको समाजवाद, नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिदेखि नेपाली कांग्रेसलाई लगाइएका विभिन्न आरोपहरुको खण्डन र नेपाली कांग्रेसको झण्डाको महिमाका कुराहरु नेपाली कांग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यक्ता ठानेर यो पुस्तक लेखेको हुँ । यसमा नेपाली कांग्रेसका अन्तरंग कथाहरु, समाजवादी चिन्तन, सामाजिक न्यायपद्धतिका बारेमा लेखेको छु ।’

नेपाली कांग्रेसको नीति विधि र शिद्धान्त समेटिएको उक्त पुस्तकमा नेपाली कांग्रेसको उत्पतिदेखि लिएर हालसम्मको अवस्थालाई सटिक ढंगले समेटिएको छ । कांग्रेसको पहिलो महाधिवेशन देखि १३ औँ महाधिवेशनसम्मको घटनाक्रमलाई समेत शिलशिलेवार ढंगले उक्त घट्नाक्रमको उल्लेख गरिएको छ । ४८४ पृष्ठ लामो उक्त पुस्तकमा कांग्रेसको बारेमा मात्र नभइ कम्युनिष्ट र अन्य पार्टीको बारेमा समिक्षा गरिएको छ । त्यस्तै कांग्रेस प्रति कम्युनिष्टहरुले लगाउने गरेको विभिन्न आरोपहरुको तथ्यगत रुपमा समिक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?