यसकारण एमसीसी टेबल गर्नबाट पछि हटे देउवा

लोकपथ
5.2k
Shares

काठमाडौं । सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबल गर्न सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो ।

संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दबाब आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए । ‘अन्तराष्ट्रिय दबाब, राजनीतिक छबी बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’ प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेको जीवनको बुझाइ छ । नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि बिश्लेषक जीवनको बुझाइ छ ।

सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेता विश्वकर्माले भने, ‘भोलि सत्ता गठबन्धनका दलबीच थप छलफल भएपछि एमसीसी सदनमा लैजानेबारे निर्णय हुनेछ । सहमति नजुटेकोले पुर्नविचार गर्नुपरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?