‘मुन्छेलाई क्या माया लाइराछ’ : सुरज र विशमको तारिफयोग्य काम

काठमाडौं  । पुराना दिनको याद झल्काउने सर्टपाइन्टसँगै घाँटीमा रुमाल, क्यापटोपीबाट बाहिर निस्केको कपाल अनि जिब्रो टोकेर केटीसँग जुधाएका कर्के नजर ।

युट्युबमा औँला घुमाउँदै गर्दा मेरा आँखा टक्क रोकिए । नियालेँ । चिनेकै अनुहार– विशम आचार्य । तर केही नयाँ केही खास लाग्यो । दाँयातिर लेखिएको थियो, ‘लाग्दैन मलाई तिम्रो भर’ ।

भिडियो क्लिक गरेर भित्र छिरेँ । विशम आचार्य र श्रद्धा प्रसाईँको नयाँ गीत रहेछ ‘लाग्दैन मलाई तिम्रो भर’ ।

भिडियोको सुरुवात नै इन्ट्रेस्टिङ लाग्यो । बाटो ढुकेर बसेका ३ जना अल्लारे ठिटा । एउटा अलिक चञ्चले थियो । पागलप्रेमी रहेछ ।

यही बाटो भाउजू आउने कुरा गर्दै थियो पित्ते । परबाट पुतली आउँदै गरेको देखेपछि बडो हिम्मत जुटाएर मायाको प्रस्ताव राखिहाल्यो । पित्तेको कचकचले रिसाएकी पुतलीले गालामा मज्जाले झापड हानी । गाली गर्दै पुतली हिँडेपछि सुरु हुन्छ, लाग्दैन मलाई तिम्रो भर ।

 

लेखु सहयात्रीको शब्द र संगीत रहेको उक्त गीतलाई गायक सुरज तामाङले निर्देशन गरेका हुन् । गीत मायाप्रेमकै हो । तर, पुरानो जमानालाई जोडेर नयाँ शैलीमा प्रस्तुत गर्ने भनेर सुरुदेखि नै शब्द, संगीत, संगीत संयोजन र गायकीमा समेत फरक स्वाद दिन खोजेको बताउँछन्, गीतकार तथा संगीतकार लेखु सहयात्री ।

‘परिकार उही भए पनि फरक तरिकाले पस्किदियो भने केही नयाँ स्वाद चाख्न पाइन्छ भनेर हामीले यो प्रयोग गरेका हौँ’, उनले भने, ‘हामीले धेरै मिहिनेत गरेका छौँ, यो कुरा दर्शकश्रोताहरुले पनि भिडियो हेरेर थाहा पाउनुहुनेछ ।’

गीतको भावअनुसार एकतर्फी प्रेम गरेर हिँडेको एक पागलप्रेमी र केटोको अल्लारे बानीले भर पर्ने अवस्थामा नभएकी प्रेमिकाको कथा प्रस्तुत गरेको बताउँछन् निर्देशक सुरज तामाङ ।

‘पछिल्लो समय बाढीझैँ आएका डान्सिङ गीतको लहरमा केही फरक काम गरेर दर्शकश्रोतालाई नयाँ स्वाद दिने हाम्रो कोसिस हो’, उनले भने ।

गीतमा पुरानो जमानाको मायाप्रेमलाई देखाइएको छ । अभिनयमा नयाँ भए पनि विशम र श्रद्धाको तारिफयोग्य अभिनय देख्न सकिन्छ । नायिकालाई संरक्षण गर्ने पात्रको रुपमा आएको ज्वाला राईको भूमिका पनि सम्झनलायक छ ।

केटी तर्किने अनि केटो अनेक हन्डर खाए पनि पछि लाग्न नछोड्ने रोमाञ्चक कथा छ गीतमा । अन्त्यमा अपहरण शैलीमा हातखुट्टा बाँधेर पुतलीलाई पित्तेको घर लगे पनि अब के हुने होला भन्ने कुतुहलता सिर्जना भएको छ ।

गीतको पूरा स्टोरी थाहा पाउन ‘लाग्दैन मलाई तिम्रो भर– २’ पर्खनुपर्ने बताउँछन् निर्देशक तामाङ ।

संगीत संयोजनमा राम्रो काम गरेर देखाइसकेका विशमको आवाजसँगै अभिनयको यतिबेला सबैले तारिफ गरेका छन् । यसअघि सुरजसँगकै सहकार्यमा बनेको ‘माया देऊ’ गीतमा पनि उनको अभिनयले तारिफ पाएको थियो ।

अभिनय नै गर्छु भन्दा पनि आफ्नो गीतमा आफैँ गरौँ न त भनेर अभिनय गरेको बताउँछन् विशम ।

‘सुरुमा त मान्छेले फेस चिनेका छैनन्, आफूले सकेसम्म कोसिस गर्दै जानेछु, कुनै दिन दर्शकश्रोताको नजरमा पर्नेछु भन्ने आशासहित अझै मिहिनेत गर्नेछु’, उनले भने ।

आफूले मिहिनेत गरे पनि धेरै दर्शकश्रोतासामु पुर्‍याउन नसकेकोमा गुनासो छ उनको ।

‘ए प्लस रेकर्डिङ स्टुडियो’मा रेकर्ड भएको गीतलाई मिक्सिङ मास्टरिङ साजन शाहले गरेका हुन् । भिडियोमा विशम र श्रद्धासँगै गायक ज्वाला राई, विकाश लिम्बु र दिपक तामाङ, विवश भट्टराईलाई देख्न सकिन्छ ।

विशाल थापाले खिचेको भिडियोलाई ज्वाला राईले सम्पादन गरेका हुन् । ‘विशम आचार्य’ युट्युब च्यानलमा गीत हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?