कांग्रेस बैठक : एमसीसी, महाअभियोगदेखि प्रतिपक्षी दलको नियतको चर्चा

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोली) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताएको जानकारी दिए । महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रीपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताए । उनले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिएको बताए ।

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसको आजको संसदीय दलको बैठकमा समसामयिक राजनीतिका थुप्रै विषयमा छलफल भयो । सांसद साथीहरुले सरकारले अहिले गरेका थुप्रै कामहरुको बारेमा पनि थप छलफल गर्न चाहनुभएको छ । यसका निम्ति केही दिनभित्र छुट्टै बैठक बस्ने निर्णय गरेका छौँ । केही दिनअघि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनमा रहेका अन्य दलहरुसँग मिलेर ९८ जना सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथि लगाएको महाअभियोगको सन्दर्भमा हामीले यो महाअभियोगको प्रश्तावको प्रक्रिया अघि बढ्दै गर्दा संसदभित्र रहेका हस्ताक्षर गरेका दलबाहेक अन्य राजनीतिक दलसँग सम्बन्धित भएका सांसदहरुले पनि यो महाअभियोग उपयुक्त भएकोले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ । यो महाअभियोगको प्रश्तावलाई संसदबाट पारित गर्नका निम्ति हामीले अन्य राजनीतिक दलहरुसँग सम्बद्ध सबै सांसदहरुलाई आह्वान पनि गरेका छौँ । २०७५ साल माघको २५ गते नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सांसदमा निर्वाचित हुनुभएका केपी शर्मा ओली, जो तत्कालीन अवस्थामा प्रधानमन्त्रीको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा रहेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रीपरिषद्मा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रश्ताव पारित ग¥यो, पारित गरेको प्रश्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो । त्यो दर्ता गरेको विधेयकलाई, प्रश्तावलाई हामीले २०७६ साल पौष १५ गते, जतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा थियो, त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रश्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो, त्यो बेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज नेपाली काँग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रश्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ । योसँगै के विश्वास पनि प्रकट गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन मन्त्रीपरिषद्मा रहेको सम्पूर्ण त्यो बेलाका जतिपनि मान्यज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ । उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्री परिषद्बाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रश्तुत हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि यसको पक्षमा उभिन्छ । एकीकृत समाजवादी र माओवादी केन्द्र पनि पक्षमा नै उभिन्छ भन्ने कुराको विश्वास पनि नेपाली काँग्रेसले आजको संसदीय दलको बैठकबाट प्रकट गरेको छ । प्रधानमन्त्रीले अन्तिममा आफ्ना कुरा राख्दा यो नेपाली काँग्रेसको नेतृत्वको सरकारले अहिले प्रश्तुत गर्न लागेको विधेयक होइन, अगाडिको तिथिमित स्मरण गर्दै प्रश्ताव प्रश्तुत गरेको हो र प्रतिपक्ष र सरकारमा रहँदै गर्दा नेपाली काँग्रेसले डबल स्ट्याण्डर राख्दैन । र यसको तत्कालीन नाफा घाटा के हुन्छ, भन्ने कुरालाई काँग्रेसले पनि त्यो प्रति चिन्तित भएर आफ्नो कर्तव्यबाट च्युत भयो भने यो सन्दर्भमा नेपाली काँग्रेसको आफ्नो छुट्टै परिचय रहँदैन, त्यसैले यसको नाफा घाटा जे सुकै होला, नेपाली काँग्रेसले आफ्नो कर्तव्य पूरा गर्दछ भन्ने एउटा कुरा र र दोस्रो कुरा प्रधानमन्त्रीको तर्फबाट नेपाली काँग्रेस संसदीय दलको नेताको हैसियतबाट मैले सभामुखलाई भनिसकेको छु कि, अब यो संसदमा टेबल हुनुपर्छ, सबैले यसमा भाग लिनुपर्छ भन्ने कुरा दोस्रो कुरा राख्नुभयो र तेस्रो कुरा नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको एउटा सन्दर्भलाई सम्झिएर उहाँले के भन्नुभएको छ भने नेकपा कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीको रुपमा रहेको केपी शर्मा ओलीले दर्ता गर्नुभएको प्रश्ताव पारित गरौँ भनेर हामी भनिरहेका छौँ । त्यही दलको प्रमुख सचेतक यो संसदबाट पारित गराउने षड्यन्त्र भइरहेको छ भनेर भनिराख्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने ? केपी शर्मा ओलीको प्रस्ताव पारित गरौँ भन्ने हाम्रो जुन पोजिशन छ, यो नयाँ पोजिशन होइन । यो पोजिशन लिँदै गर्दा षड्यन्त्र कसरी हुन्छ ? मैले यो बुझ्न सकिन भन्ने कुरा राख्नुभएको छ । उहाँ भोलि यसको टेबल हुन्छ भनेर विश्वस्त हुनुहुन्छ ।’

महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरुले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताए । उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकोले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने अपेक्षा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?