संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

RSS
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लागेका छन् । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन् ।

धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए । विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभामुख र अध्यक्ष भनेको फूलहाउसको नेता भएकाले समितिलाई निर्देशन दिने, आवश्यकतानुसार बैठकमा सहभागी हुने सामान्य विषय भएको प्रतिक्रिया दिए ।

विगतमा पनि कार्यसूची र विषयवस्तुका गाम्भीर्यताका आधारमा समितिका बैठक संयुक्त बस्ने गरेको तथा त्यस्ता बैठकमा सभामुखको पनि उपस्थितिको अभ्यास भइसकेको बताइएको छ । राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?