काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाह भएको भन्दै स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्घन्ध फैलिएर थप समस्या हुनसक्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’
उनले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबै भन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गरोस् ।’
उनले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिदा गाली काठमाडौं महानगरपालिकाले खानुपरेको पनि बताए ।
यो पनि पढ्नुहोस् : फोहोर ढुवानीमा चरम लापरबाही : स्थानीय सरकार मुकदर्शक, जनस्वास्थ्यमा खेलबाड
‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।’
‘फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर–मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक छ,’ । शाक्यले भने, ‘महानगरपालिकाका तर्फबाट गर्ने सबै प्रयासमा महानगरपालिका तयार छ । बाटो छिटो निर्माण होस् भन्ने स्थानीयको माग जायज छ तर फाहोर जस्तो संवेदनशील विषयलाई विसर्जनमै अवरोध गर्नु भन्दा पनि सम्वन्धित निकायलाई बैकल्पिक बाटोबाट दबाब दिनु उपयुक्त हुन्छ भन्ने मेरो उहाँहरुलाई सुझाव छ ।’
काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फहोरो विसर्जनका लागि अवरोध भएको जानकारी दिए । ‘हिजोबाट उपत्यकाको फोहोर विसर्जनको काममा अवरोध भएको छ,’ उनले भने, ‘मुड्खु–तीनपिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फाहोर विसर्जनमा अवरोध भएको हो ।’
उनले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिवद्धता उनीहरुबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिए ।
यो पनि पढ्नुहोस् : ठेक्काको झन्डै ७ वर्ष : बाटोको अवस्था दयनीय, स्थानीयद्वारा पासाङल्हामु राजमार्ग अवरुद्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया