संयोग वा योजनाबद्ध : पूर्वप्रधानन्यायाधीश कार्कीलाई पनि स्थानीय तह निर्वाचनको घोषणालगत्तै लागेको थियो महाभियोग

लोकपथ
3.6k
Shares

काठमाडौं । सत्तारुढ पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग प्रस्ताव दर्तासँगै प्रधानन्याधीश राणा निलम्बनमा परेका छन् ।

करिब ४ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध पनि यसैगरी महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

चार वर्षको अन्तरालमा दर्ता भएका यी दुई महाभियोग प्रस्तावबीच एउटा कुरा समान छ । त्यो हो– यी दुवै महाभियोग प्रस्ताव स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि दर्ता भएका हुन् ।

यसअघि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि सरकारले २०७३ साल फागुन ९ गते निर्वाचन मिति घोषणा गरेको थियो । फागुन ९ गते सरकारले २०७४ वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । पछि उक्त निर्णय संशोधन गर्दै तीन चरणामा स्थानीय तहको निर्वाचन गरिएको थियो ।

त्यतिबेला सरकारको नेतृत्व गरेका थिए नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले । प्रचण्डको सरकारलाई साथ दिएको थियो नेपाली कांग्रेसले ।

निर्वाचनको मिति नजिकिदै गर्दा २०७४ वैशाख १७ गते तत्कालिन प्रधानन्यायायधी सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाभियोग दर्ता गरेका थिए ।

महाभियोगको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा बनेका थिए भने समर्थक माओवादीका तत्कालीन सचेतक टेकबहादुर बस्नेत ।

कार्कीको कार्यकाल करिव एक महिना बाँकी हुँदा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । प्रस्तावमा तत्कालिन २५१ सांसदको हस्ताक्षर रहेको थियो ।

संयोग हो वा योजनावद्ध स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको थियो ।

आइतबार दर्ता गरिएको महाभियोग पत्रमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ ।

अहिले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् भने सरकारमा माओवादी, एकीकृति समाजवादी र जनता समाजवादी पार्टी, नेपाल सहभागी छन् ।

दुवै महाभियोगमा कांग्रेस र माओवादी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?