ओलीको टिप्पणी- ‘प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैन’

लोकपथ
338
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै कांग्रेसले हात नदिए हिँडन नसक्नेहरुलाई बामपन्थी भन्न नमिल्ने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरुले चुनावमा गठबन्धन नगर्ने भन्दापनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए ।

उनले भने, ‘हामी सुनिरहेका छौं–हामी कुनै हालत पनि गठबन्धन तोडदैनौं भनेर । नेपाली काँग्रेसको शेरबहादुर देउवाबाहेक प्रायः हामी संयुक्त चुनावमा जाँदैनौं, गठबन्धन हुँदैन भनेर काँग्रेसका नेताहरु भन्छन । बामपन्थीहरु तिनीहरुले हात नदिए हामी कसरी हिँडने ? हामी त गठबन्धन छोडन सक्दैनौं चुनावसम्मै यो गठबन्धन चाहिन्छ भनेर बामपन्थी खोल ओढेका यो गठबन्धनको कुरा गरिरहन्छन । अव हामीले छुट्टयाउने कसरी ? त्यसैकारण हामी भनिराखेको छौं–यहाँ छुट्टयाउनुपर्ने आवश्यक्ता छैन । कतिपय मान्छेहरु भुलबसले प्रचण्ड कामरेड, माधव कामरेड भन्छन । के का कामरेड नि ? शेरबहादुर देउवाभन्दा अगाडिअगाडि शेरबहादुर देउवाको ढोकामा पस्न पाईदैन । ढोकामा त त्यहाँ यिनीहरु बसेका छन नि । भित्र जाँदा शेरबहादुर के गर्दैछन, पछि हेरौैंला । तर गेटमा त यिनीहरु बसेका छन त । त्यसकारण यी चाँही कामरेड भनेर हुन्छ । कामरेड–सामरेड सबै गुटमुट्याएर एकैठाउँ राखि दिनुपर्छ, आगामी चुनावबाट ।’

त्यस अवसरमा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गर्नु भएको थियो । यता, ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?